एमाले र प्रलोपाबीच चुनावी तालमेल, रुकुममा आँखा र राप्तीमा सूर्य
जनार्दनलाई एमालेको साथ
मेयरसाप डेस्क
|
२०८२ माघ ११ गते १७:००
काठमाडौँ । नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच आगामी प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लागत रूपमा चुनावी तालमेल गर्ने लिखित सहमति भएको छ ।
आइतबार एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपा अध्यक्ष दुर्गा सोवबीच भएको तीन बुँदे सहमतिले रुकुमदेखि साविकको राप्ती र कर्णाली प्रदेशसम्म नयाँ राजनीतिक समीकरण निर्माण गरेको हो ।
सहमतिअनुसार, एमालेले रुकुम पश्चिमका उम्मेदवार जनार्दन शर्मा र रुकुम पूर्वका उम्मेदवार सन्दीप पुनको पक्षमा आफ्नो मत हाल्ने भएको छ । यी दुवै क्षेत्रमा एमालेले प्रलोपाको चुनाव चिन्ह ‘आँखा’ मा मतदान गर्ने गरी सहमति गरेको हो ।
यसको बदलामा प्रगतिशील लोकतान्त्रिक पार्टीले कर्णाली प्रदेशका हुम्ला र जुम्लाबाहेकका अन्य जिल्लाहरू तथा साविकको राप्ती अञ्चलका जिल्लाहरूमा एमालेलाई सघाउने भएको छ । ती क्षेत्रहरूमा प्रलोपाले एमालेका उम्मेदवारहरूको पक्षमा ‘सूर्य’ चिन्हमा मतदान गर्ने सहमति भएको छ ।
दुवै दलले यो सहमतिलाई तत्काल कार्यान्वयन गर्न आ–आफ्नो आन्तरिक पङ्क्तिलाई निर्देशन दिने निर्णय समेत गरेका छन् ।

Facebook Comments