रेशम चौधरीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
निर्वाचन आयोगसँग मागियो जवाफ
मेयरसाप डेस्क
|
२०८२ माघ ११ गते १६:१८
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्ध दायर गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
आइतबार न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले चौधरीको मागबमोजिम तत्काल अन्तरिम आदेश जारी नगरे पनि निर्वाचन आयोगसँग यस विषयमा लिखित जवाफ माग गर्ने आदेश दिएको हो ।
अदालतले अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा थप छलफलका लागि दुवै पक्षलाई बोलाउने निर्णय समेत गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गराएका चौधरीको उम्मेदवारीलाई निर्वाचन आयोगले गत बिहीबार खारेज गरिदिएको थियो ।
टीकापुर हत्याकाण्डसँग सम्बन्धित कर्तव्य ज्यान मुद्दामा तीनवटै तहका अदालतबाट दोषी ठहर भएको देखिएकाले उनी निर्वाचनमा उम्मेदवार हुन अयोग्य रहेको आयोगको ठहर छ ।
आयोगको उक्त निर्णयविरुद्ध चौधरीले सर्वोच्चमा रिट दायर गरे पनि अदालतले तत्काल चुनावी प्रतिस्पर्धामा फर्किने बाटो नखोल्दा उनको उम्मेदवारी अन्योलमा परेको छ ।
Facebook Comments