कलैयाका तत्कालीन वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
जग्गाको विवरण ढाँटेर राजस्व हिनामिना
मेयरसाप डेस्क
|
२०८२ माघ ११ गते १७:२६
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिका–३ का तत्कालीन वडाध्यक्ष र वडा सचिवसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
घर तथा बाटो भएको जग्गाको विवरण लुकाई कम मूल्याङ्कन गरेर राजस्व हिनामिना गरेको आरोपमा आयोगले आइतबार आरोपपत्र दायर गरेको हो ।
मुद्दा चलाइएकाहरूमा तत्कालीन वडाध्यक्ष एम. जलालुदिन मन्सुर, तत्कालीन वडा सचिव रघु प्रसाद सहनी गोढी, जग्गा बिक्रीकर्ता रौफ मिया मन्सुर र जग्गा खरिदकर्ता हिरालाल प्रसाद रहेका छन् ।
आयोगको अनुसन्धान अनुसार कलैया–वीरगन्ज हुलाकी राजमार्गसँग जोडिएको र पक्की घर भएको जग्गालाई वडाध्यक्ष र सचिवको मिलेमतोमा भित्री बाटोमा पर्ने र घर समेत नभएको भन्दै गलत सिफारिस तयार गरिएको थियो ।
सोही गलत सिफारिसका आधारमा ९९ लाख ४८ हजार ९२१ रुपैयाँ न्यूनतम मूल्याङ्कन हुनुपर्ने सम्पत्तिलाई जम्मा ५ लाख ५० हजार रुपैयाँ मात्र कायम गरी मालपोतबाट पास गराउँदा सरकारलाई ६ लाख ९४ हजार ६५१ रुपैयाँ राजस्व घाटा पुगेको अख्तियारको ठहर छ ।
आयोगले चारै जना प्रतिवादीहरू विरुद्ध ६ लाख ९४ हजार ६५१ रुपैयाँ बिगो कायम गर्दै जरिवाना र कैद सजायको मागदाबी गरेको छ ।
Facebook Comments