राष्ट्रियसभा निर्वाचन सातै प्रदेशमा शान्तिपूर्ण रूपमा सम्पन्न

९५ प्रतिशत मतदान, आजै नतिजा आउने

User Image मेयरसाप डेस्क | २०८२ माघ ११ गते १७:४९
Image of https://mayorsap.com/storage/photos/shares/photo-73c1ab7b-1.jfif

काठमाडौँ । राष्ट्रिय सभा सदस्यका लागि बिहीबार भएको निर्वाचन उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । 

निर्वाचन आयोगका अनुसार, बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सातै प्रदेशका राजधानीमा तोकिएका मतदान केन्द्रहरूमा भएको मतदानमा कुल ९५ दशमलव ६८ प्रतिशत मत खसेको छ ।

आगामी फागुन २० गते रिक्त हुने १८ सदस्यका लागि भएको यस निर्वाचनमा मतदाताहरूको सहभागिता उल्लेख्य रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

आयोगको विवरणअनुसार सातै प्रदेशका कुल २ हजार ११ मतदातामध्ये १ हजार ९ सय २४ जनाले मतदान गरेका छन् । 

प्रदेशगत रूपमा हेर्दा कोशीमा ३४५, मधेसमा ३४१, वाग्मतीमा ३१८, गण्डकीमा २२३, लुम्बिनीमा २८६, कर्णालीमा १९१ र सुदूरपश्चिम प्रदेशमा २२० मत खसेको छ ।

१८ पदका लागि भएको निर्वाचनमा कोशी प्रदेशबाट खस आर्यतर्फ नेपाली कांग्रेसका सुनिलबहादुर थापा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

बाँकी १७ पदका लागि भएको मतदानपछि अहिले सबै मतपेटिकाहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा जम्मा गरी मतगणनाको तयारी भइरहेको छ ।


Facebook Comments