२५० जनालाई अमेरिका पठाउने गिरोहविरुद्ध एक अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा दायर
मेयरसाप डेस्क
|
२०८२ फागुन ४ गते १५:५०
काठमाडौं । करिब २५० जना नेपालीलाई अवैध तरिकाले अमेरिका पठाएको र करोडौँ ठगी गरेको आरोप लागेका दुई व्यक्तिविरुद्ध झन्डै एक अर्ब रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरिएको छ ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले रुकुम पश्चिमका कलबहादुर बस्नेत र रुकुम पूर्वका अमित बस्नेतविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
कलबहादुर बस्नेत हाल डिल्लीबजार कारागारमा छन् । उनलाई इन्टरपोलको सहयोगमा गत भदौमा दुबईबाट पक्राउ गरी नेपाल ल्याइएको थियो । त्यस्तै अर्का अमित बस्नेत भने अझै फरार छन् । उनलाई फरार प्रतिवादीकै रूपमा मुद्दा दायर गरिएको छ ।
उनीहरूले २५० जनाभन्दा बढीलाई अवैध मार्गबाट अमेरिका पुर्याएको र धेरैलाई अमेरिका पठाउने प्रलोभन देखाई अलपत्र पारेर ठगी गरेको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीको अनुसन्धानले उनीहरूको बैंक खातामा अस्वाभाविक र अवैध कारोबार भएको फेला पारेको हो । कलबहादुरको विभिन्न बैंकका खाताहरू हेर्दा ७० करोड ६० लाख ५३ हजार ७२२ रुपैयाँ र अमित बस्नेतको खाताबाट २७ करोड ४५ लाख २९ हजार २८ रुपैयाँ भेटिएको प्रहरीको भनाइ छ।
यी दुवैको गरी कुल ९८ करोड ५ लाख ८२ हजार ७५१ रुपैयाँ अवैध कारोबार देखिएकाले सोही बराबरको रकम बिगो दाबी गर्दै मुद्दा अगाडि बढाइएको छ ।
Facebook Comments