स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य
माइकल जोन्सको ७१ रनको योगदान, सोमपाल कामीको ३ विकेट
मेयरसाप डेस्क
|
२०८२ फागुन ४ गते २१:०९
काठमाण्डाै| मुम्बईस्थित वानखेडे स्टेडियममा जारी आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो चौथो खेलमा स्कटल्यान्डले नेपाललाई जितका लागि १७१ रनको लक्ष्य दिएको छ। टस जितेर कप्तान रोहित पौडेलले पहिले बलिङ रोजेपछि ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन बनायो।
स्कटल्यान्डका ओपनर माइकल जोन्सले सर्वाधिक ७१ रनको अर्धशतकीय पारी खेले। उनले जर्ज मुन्सेसँग पहिलो विकेटका लागि ८० रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई सशक्त सुरुवात दिलाए। मुन्सेले २९ बलमा ४ चौकाको सहयोगमा २७ रन जोडे। त्यसपछि जोन्सले ब्राण्डन म्याकमुलेनसँग दोस्रो विकेटका लागि ५२ रनको साझेदारी गर्दै स्कोरलाई मजबुत बनाएका थिए। म्याकमुलेनले २५ रन बनाए।
सुरुवाती १० ओभरमा स्कटल्यान्डका ब्याटरले आक्रामक खेल प्रदर्शन गर्दै नेपाली बलरमाथि दबाब बनाए पनि पहिलो विकेट पतनपछि नेपालले खेलमा फर्कने प्रयास गरेको थियो। कप्तान रोहित पौडेलले स्वयं बलिङ गर्दै १०औं ओभरको अन्तिम बलमा मुन्सेलाई सन्दीप जोराको हातबाट क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए।
अन्तिम पाँच ओभरमा नेपालले उत्कृष्ट पुनरागमन गर्यो। १६औं ओभरमा दोस्रो स्पेलमा आएका सोमपाल कामीले एकै ओभरमा दुई विकेट लिए। उनले अर्धशतक बनाएर अघि बढिरहेका जोन्सलाई बोल्ड गरे भने त्यसपछि म्याकमुलेनलाई कट एण्ड बोल्ड आउट गरे। यससँगै सोमपाल टी–२० विश्वकपमा नेपालका लागि सर्वाधिक ९ विकेट लिने खेलाडी बने। यसअघि दीपेन्द्र सिंह ऐरी ८ विकेटसहित अग्रस्थानमा थिए।
१७औं ओभरको अन्तिम बलमा कुशल भुर्तेलले स्कटिस कप्तान रिची बेरिङटनलाई सन्दीप जोराको हातबाट क्याच गराए। बेरिङटन ६ बलमा १० रन बनाउँदै आउट भए। १८औं ओभरमा नन्दन यादवले म्याथ्यु क्रसलाई बोल्ड गरे भने १९औं ओभरमा सोमपालले टम ब्रुसलाई आउट गर्दै व्यक्तिगत तेस्रो विकेट लिए। अन्तिम ओभरमा नन्दनले माइकल लिस्कलाई आउट गर्दै दोस्रो विकेट आफ्नो नाममा लेखाए।
नेपालका लागि सोमपाल कामीले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए। नन्दन यादवले २ विकेट लिए भने रोहित पौडेल र कुशल भुर्तेलले १–१ विकेट हात पारे।
समूह चरणका सुरुवाती तीन खेलमा पराजित भइसकेको नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ। आजको खेल नेपालका लागि प्रतिष्ठा जोगाउने अन्तिम अवसरका रूपमा रहेको छ। अन्तिम खेल जित्दै समर्थकलाई खुशी दिने लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रिएको छ।
Facebook Comments