विवादपछि राजीनामाको डिलमा गृहमन्त्री गुरुङ, जेन–जीदेखि कांग्रेसको घेरामा

१८ घण्टामा उथलपुथल

User Image मेयरसाप डेस्क | २०८३ वैशाख ५ गते १९:३६
Image of https://mayorsap.com/storage/photos/shares/sa_3.jpg

बाबुले नै गल्ती गरे पनि छाड्दिन भन्दै सुशासनको ‘कसी’ लगाउन कस्सिएका गृहमन्त्री सुधन गुरुङ अन्ततः बिचौलियासँगको व्यवसायी साझेदार भएको विवादमा मुछिएका छन् । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसम्बद्ध कम्पनीमा प्रत्यक्ष साझेदारी भेटिएपछि गुरुङ एक महिनाको अन्तरालमै रिङ आउटको नजिक पुगेका हुन् । उनको गृहमन्त्री पद नै धरापमा परेको छ । 

दीपक भट्टको स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा गृहमन्त्री गुरुङले आफ्नै नाममा शेयर लिएको तिन पुस्ते विवरणसहितको लगत किताब नै सार्वजनिक भएपछि सुशासनको दुहाइदिएका गृहमन्त्री आफै कानुनको फन्दामा पर्ने देखिएको हो । 

यद्यपि गृहमन्त्री गुरुङले आफूमाथिको आरोपका विषयमा सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका छन् । मूलतः दीपक भट्ट पनि अहिले आरोपित हुन् । उनीमाथिको मुद्दा अनुसन्धानकै क्रममा छ । पहिला स्वयं उनी दोषी वा निर्दोषमध्ये एक ठहर भएपछि उनीसँगका साझेदारी कति जायज, नाजायज, कानुनी, गैरकानूनी भन्ने अनुसन्धानको विषय होला । तर विवादित विषय सार्वजनिक भएपछि पहिला गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानमा सघाउनु पर्ने माग उठेको छ । 

गृहमन्त्री विवादमा परेपछि के–के भयो ? 
–आइतबार ६ बजेर ४२ मिनेटमा पहिलो पटक दियो पोस्टबाट दीपक भट्ट र शङ्कर समूहसँग गृहमन्त्री सुधन गुरुङको ‘पार्टनरसिप’, रामचन्द्र भट्ट पनि साझेदार ! शीर्षकमा समाचार प्रकाशित भयो । त्यसपछि अन्य सञ्चार माध्यहरूले पनि क्रमैसंग विषय उजागर गर्दै गए । सामाजिक सञ्जालमा केही बेरमै छ्यापछ्याप्ती भयो ।

–जेनजी मुभमेन्ट नेपालले विभिन्न शंकास्पद गतिविधिमा नाम जोडिएपछि गृहमन्त्री सुदन गुरुङलाई पदबाट बर्खास्त गरेर पक्राउ गर्न माग गर्‍यो ।

–नेपाली कांग्रेसले पनि गृहमन्त्री सुधन गुरुङमाथि तुरुन्त अनुसन्धान गर्न माग गरेको छ। गृहमन्त्रीमाथि लागेका सबै आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया सुरू गर्न कांग्रेसले सरकारलाई आग्रह गरेको छ ।

–गृहमन्त्री हुनु ५ दिनअघिसम्म शंकास्पद सेयर कारोबार भएको चर्चा 
सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्ट समूहको एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड इन्भेस्टमेन्ट लिमिटेडमा गृहमन्त्री गुरूङलले ५३ लाख रुपैयाँ बढीको सेयर खरिद गरेको बाहिरिएको छ । मन्त्री बन्नुभन्दा ठिक ५ दिन अघिसम्म उनले दोस्रो बजारमा आक्रामक रूपमा सेयर खरिद गरेको तथ्य फेला परेको हो । गृहमन्त्री गुरुङले २०८२ माघ १५ बाट चैत ८ गतेसम्म ५३ लाख ३५ हजार ५८० रुपैयाँको सेयर किनेको देखिन्छ । 

सम्पत्ति विवरण लुकाएको आरोप  
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा गृहमन्त्री सुधन गुरुङले दीपक भट्टसम्बद्ध कम्पनीको सेयर उल्लेख गरेका थिएनन् । यहीँबाट शंकाको सुविधा मिलेको छ । यद्यपि यो विषयमा गृहमन्त्री गुरुङले प्रस्टीकरण दिएका छन् । 

विवादित भट्टलाई पाँच वर्षअघि राजधानीमा सम्मान
गृहमन्त्री सुधन गुरुङ र दीपक भट्टबीचको कैयौं सेयर साइनो खुलेपछि उनीहरुबीच धेरै वर्ष देखि नै सुमधुर सम्बन्ध रहेको केही आधार भेटिएको छ । सुधन हामी नेपालका संस्थापक संयोजक हुन् । त्यही संस्थाले भट्टलाई पाँच वर्षअघि राजधानीमा सम्मान गरेको थियो । 

सुधन गुरुङको स्पष्टीकरण 
पछिल्ला दिनमा मेरो नाम जोडेर विभिन्न चर्चा भइरहेका छन्। विषय अलि जटिल ढंगले प्रस्तुत भएकाले म यसलाई सरल भाषामा स्पष्ट पार्न चाहन्छु। स्पष्ट कुरा, हल्ला धेरै छन्, तर तथ्य के हो भन्ने बुझ्न जरुरी छ।

“२५ लाखको सेयर लुकाइएको” भनिएको छ। वास्तविकता के हो भने सबै सेयर एउटै प्रकृतिका हुँदैनन्। मैले धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको छु, जुन जोकोहीले मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सक्नुहुन्छ। 

स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको हो। यो लुकाउने होइन, वर्गीकरणको विषय हो।सीधा कुरा, लुकाउने मान्छेले खुला रूपमा २ करोडभन्दा बढी सम्पत्ति देखाउँदैन।

“मन्त्री हुनुअघि सेयर किनियो“ भनिएको छ। यो देशमा सेयरमा लगानी गर्नु कहिलेदेखि अपराध भयो? सम्पूर्ण कारोबार बैँकिङ च्यानलमार्फत भएको छ । बैंकबाट गएको पैसाको सबै हिसाब हुन्छ। कहिले गयो, कहाँ गयो, कसलाई गयो सबै देखिन्छ। यस्तो हिसाब हुने पैसा कसरी लुकाउने ? कहाँ लुकाउने ? 

अब स्रोतको कुरा, मैले लगानी गरेको रकम ऋण (कर्जा) मार्फत जुटाइएको हो, र त्यसको लिखित तमसुक मिति २०८०-०५-२९ को हो,जुन रेकर्डमा नै छ।

उक्त तमसुकअनुसार ऋण लिइएको रकम बैंकिङ च्यानलमार्फत आएको छ र सोही रकम लगानीमा प्रयोग गरिएको हो। अर्थात्, पैसा कहाँबाट आयो भन्ने कुरा अनुमानको होइन, कागज र बैंक रेकर्डले प्रमाणित गर्ने विषय हो।

“विवादित व्यक्तिसँग साझेदारी” भनिएको छ। एउटै कम्पनीमा सयौँ–हजारौँ सेयरहोल्डर हुन्छन्। सेयर किन्नु भनेको सबैसँग साझेदारी गर्नु होइन। यदि त्यसैलाई आधार मान्ने हो भने त्यही कम्पनीमा लगानी गर्ने सबैलाई एउटै रूपमा दोषी ठहर गर्नुपर्ने हुन्छ, जुन न्यायोचित होइन। त्यही कम्पनीमा मिडिया हाउसदेखि बैंकसम्मका लगानी छन्। के ती सबै साझेदार वा दोषी हुन् त?

“कन्फिल्पट अफ इन्ट्रेष्टको आरोप पनि उठाइएको छ। तर यस विषयमा छानबिन गर्ने निकाय गृह मन्त्रालय होइन, अर्थ मन्त्रालय अन्तर्गत रहेको सम्पत्ति शुद्धीकरण विभाग हो, र सोही निकायले प्रक्रिया अनुसार विषय हेरिरहेको छ। यदि मैले कुनै हस्तक्षेप गरेको भए यस्तो छानबिन प्रक्रिया नै अघि बढ्ने थिएन।

यसको अर्थ स्पष्ट छ, प्रक्रिया चलिरहेको छ, प्रभाव होइन। अन्त्यमा गुरुङले निर्णय भावनाले होइन, प्रमाणका आधारमा हुनुपर्छ भनेका छन् । उनले यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्ने र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् ।

हेर्नुहाेस् भिडियाे:–

 


Facebook Comments