गृहमन्त्रीलाई राजीनामा दिन हर्कको सुझाव

एमसीसी–एसपीपीबारे मुख खाेले

User Image मेयरसाप डेस्क | २०८३ वैशाख ६ गते १८:३४
Image of https://mayorsap.com/storage/photos/shares/4cf894a7-8550-44a2-824c-3d454e69bdf6.png

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ३३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत श्रम संस्कृती पार्टीले उक्त प्रतिबद्धता सार्वजनिक गरेकोे हो ।

प्रतिबद्धतापत्र सार्वजनिक गर्दै साम्पाङले विवादमा मुछिएका गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिनका लागि सुझाव पनि दिएका छन् । उनले गुरुङले मार्गप्रशस्त गर्नु नै उपयुक्त हुने बताएका हुन् ।

प्रतिबद्धता पत्रमा असंलग्न परराष्ट्र नीतिलाई कायम र सुदृढ गर्दै देशलाई विदेशी हस्तक्षेपबाट जोगाउनुपर्नेमा जोड दिइएको छ । एमसीसी, एसपीपी वा ‘बफर स्टेट’ जस्ता अवधारणासँग जोडिने कुनै पनि सन्धि, सम्झौता वा रणनीतिमा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नजनाउने धारणा पार्टीले राखेको समेत बताइएको छ ।

प्रतिबद्धतापत्रमा सीमा सुरक्षालाई प्राथमिकतामा राख्दै छिमेकी मुलुकसँग नियमित संवाद, निरीक्षण तथा परीक्षण प्रणालीमार्फत सीमाको रक्षा गर्नुपर्ने समेत उल्लेख गरिएको छ ।

सीमावर्ती क्षेत्रका नागरिकलाई आधारभूत सेवा सुविधाको प्रत्याभूति गरिने, आवश्यक परे नेपाली सेनालाई सुरक्षामा परिचालन गरिने तथा अवैध निर्माण कार्यहरू रोक्न पहल गरिने उल्लेख छ ।

त्यसैगरी, भौतिक पूर्वाधार, आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक विकासका लागि आफ्नै मौलिक शैली, आधुनिक प्रविधि र स्वदेशी स्रोत साधनको उपयोग गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने नीति अघि सारिएको छ ।

दैनिक उपभोग्य वस्तु जस्तै नुन, तेल, पेट्रोलियम र ऊर्जाको मूल्य नियन्त्रण गर्दै जनजीवन सहज बनाउने, महँगी नियन्त्रण गर्ने तथा आवश्यक परे राज्यले हस्तक्षेपकारी भूमिका खेल्ने प्रतिबद्धता पनि सार्वजनिक गरिएको छ ।

साम्पाङले हप्ताको तीन दिन किताबी ज्ञान र चार दिन श्रम, सीप तथा उत्पादनमूलक व्यावहारिक शिक्षा दिने नीति बनाउनुपर्ने, कृषिलाई शिक्षा र उद्योगको आधार मान्ने, सिँचाइ, मल र बिउ किसानको पहुँचमा पुर्याउनुपर्ने, एक परिवार, एक रोजगार’को नीति लागू गर्नुपर्ने लगायतका सुझाव सरकारलाई दिएका छन् ।

हेर्नुहोस् भिडियो:–


Facebook Comments