एमालेको खटपट सतहमा, ओलीको तस्बिर हटाइयो

नेकपासँग एकता ?

User Image मेयरसाप डेस्क | २०८३ वैशाख ६ गते १९:२४
Image of https://mayorsap.com/storage/photos/shares/sa-1_1.jpg

पार्टीको ७७औं स्थापना दिवसको अवसरमा नेकपा एमालेले दुईवटा पोस्टर सार्वजनिक गर्यो । उक्त पोस्टरले निकै चर्चा बटुलिरहेको छ । चर्चाको कारण एउटै हो— दुवै पोस्टरमा अध्यक्ष केपी शर्मा ओलीको तस्बिर राखिएको छैन । यसअघिका कार्यक्रममा ओलीलाई नै प्रमुुख मानकको रुपमा मानेर ठूूलाठूला फोटोसहित ‘शो’ गर्ने चलन थियो । यो पटक त्यो परम्परा तोडिएको छ ।

यसअघि एमालेका साना–ठूला जुनसुकै कार्यक्रममा पनि ओलीको फोटो अनिवार्यजस्तै राखिने गरिन्थ्यो । पोस्टर, ब्यानर, स्टेज—जहाँ हेरे पनि ओली नै देखिन्थे । यसपटक सार्वजनिक गरिएका पोस्टरहरूमा भने फरक दृश्य देखियो । एउटा पोस्टरमा पुष्पलाल श्रेष्ठ, मदन भण्डारी र मनमोहन अधिकारीको तस्बिर राखिएको छ, भने अर्को पोस्टरमा पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारीसँगै तुल्सीलाल अमात्य र सहाना प्रधानलाई पनि देखाइएको छ । हिजो ओलीसँगै लहरै तस्बिर राख्ने एमाले आज एकाएक आफ्ना संस्थापक र पुराना नेताहरूको लिगेसीमा फर्किएको छ ।

विगत सम्झने हो भने, गत साउनमा भएको विधान महाधिवेशन होस् वा त्यसपछि मंसीरमा भएको ११ औँ महाधिवेशन, ती कार्यक्रमहरू ओलीमय देखिन्थे । महाधिवेशन स्थलमा ओलीको पूर्ण कदको कटआउट राखिएको थियो र कार्यकर्ताहरू फोटो खिचाउन तँछाडमछाड गर्थे । त्यतिबेला ओली पार्टी अध्यक्ष मात्र नभई कार्यकर्ताका लागि राज नेता थिए । तीनै ओलीलाई अहिले पार्टी कार्यक्रमका पोस्टरबाटै हटाउन थालिएको छ ।

कुनै बेला भारतीय नाकाबन्दी सामना गर्दा र चुच्चे नक्सा जारी गर्दा ओली राष्ट्रवादी हिरो कहलिएका थिए । तर, गत भदौको जेन–जी आन्दोलनपछि भने यो परिदृश्य एकाएक बदलिएको देखिन्छ । त्यही आन्दोलनपछि ओलीको छवि धुलिसात् भयो । यसको असर गत फागुनको निर्वाचनमा प्रस्टै देखिएको थियो । चुनावमा ओलीनिकट उम्मेदवारहरूले नै आफ्नो पोस्टरमा ओलीको फोटो राख्ने आँट गरेका थिएनन् ।

जेन–जी आन्दोलनपछि पुराना नेताहरूमाथि जुन किसिमको प्रश्न उठ्यो, त्यसको सबैभन्दा बढी मारमा केपी ओली परेका छन् । त्यसमाथि, बालेन शाह नेतृत्वको वर्तमान सरकारले जेन–जी आन्दोलनमा दमन गरेको अभियोगमा ओलीलाई पक्राउ गर्यो । अनुसन्धानकै सिलसिलामा ओलीलाई हिरासतमा पुरइएपछि एमालेभित्र ओली ब्रान्ड अब पार्टीका लागि फाइदाजनक छैन भन्ने मनोविज्ञान हाबी भएको छ । 

ओलीलाई पक्राउ गरिएपछि एमालेभित्रको समीकरण झन् बदलियो । अध्यक्ष नै हिरासतमा परेपछि उनको लोकप्रियतामा भारी गिरावट आएको भन्दै पार्टीभित्रै ओलीको विकल्प खोज्नुपर्ने आवाज उठ्न थालेको छ । पार्टीभित्रै एउटा पङ्क्तिले अब ओलीको नेतृत्वमा आगामी चुनाव जित्न नसकिने र उनीमाथि लागेका आरोपले पार्टीलाई थप क्षति पुर्याउने निष्कर्ष निकालिएको थियो ।

अझ रोचक कुरा के छ भने, एमाले केन्द्रीय कार्यालयमै हुने कार्यक्रमको पोस्टरमा समेत न अध्यक्षको ओलीको नाम छ, न प्रमुख अतिथि को हो भन्ने उल्लेख गरिएको छ । यसअघि ओलीबिनाको कार्यक्रम सोच्नै नसकिने अवस्था थियो । तर, अहिले प्रमुख अतिथि नै खुलाउन नसकिनु आफैँमा असामान्य मानिएको छ ।

हाल स्वास्थ्य कारणले आराम गरिरहेका ओली कार्यक्रममा आउने–नआउने पनि स्पष्ट छैन । तर, पोस्टरबाटै उनको अनुपस्थिति देखिनुले स्वास्थ्यको कारण मात्र नभई राजनीतिक कारण पनि जोडिएको हुनसक्ने अनुमान गरिएको छ । त्यसैले पनि यो पटकको स्थापना दिवसको ब्यानरमा ओलीको फोटो नराखिनुलाई धेरैले ओली युगको बिदाइको संकेतका रूपमा हेरेका छन् । 

स्थापना दिवसजस्तो महत्वपूर्ण कार्यक्रममा ओलीको तस्बिर नराखिनु संयोग मात्र नभई योजनाबद्ध निर्णय हुनसक्ने अनुमान गरिएको छ । किनकि, यसअघि सानो–ठूलो जस्तोसुकै कार्यक्रममा पनि ओलीको तस्बिर अनिवार्य रूपमा राखिने गरेको थियो । अहिले त्यो परम्परा अचानक तोडिनु आफैँमा सन्देहपूर्ण मानिएको छ ।

जेन–जी आन्दोलनपछि ओलीमाथि विभिन्न आरोप लाग्नु र बालेन सरकारले अनुसन्धानका लागि उनलाई पक्राउ गरी हिरासतमा राखेको घटनाले पार्टीभित्र थप दबाब सिर्जना गरेको बताइन्छ । ओलीको छवि मात्र होइन, पार्टीभित्रको पकडमा पनि असर परेको विश्लेषण हुन थालेको छ । त्यसैले केही नेताहरू अहिले विकल्प खोज्ने सोचमा पुगेको हुनसक्ने चर्चा छ ।

एमालेमा ओलीको विकल्प खोज्ने खेल मात्र चलेको छैन, वामपन्थी एकताको ठूलो खिचडी पनि पाकिरहेको छ । नेकपा र एमालेलाई फेरि एक गराउन केही नेता लागेको चर्चा हुन थालेको छ । यद्यपी एमाले उपाध्यक्ष विष्णुु पौडेलले भने एकताको विषयमा विरोध जनाएका छन । उनले केही दिन अघि सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै 

एमालेका लागि निर्वाचनमा भएको चिन्ताजनक पराजयको गभीर समिक्षा र पार्टीको पुनर्गठन आजको प्राथमिक कार्यसूची हो भनेका छन् ।त्यसको अलावा पौडेलले यथार्थबाट अन्यत्र ध्यान मोड्ने गरी पर्दा भित्रबाट वामपन्थी एकताको असान्दर्भिक चर्चा कस्ले, किन चलाईरहेका हुन् ? भनेर प्रश्न गरेका छन् । महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल नै अहिले ओलीलाई किनारा लगाउन लागि परेको आरोप छ । नेकपाका अन्य घटकहरू ओलीको नेतृत्वमा एकता गर्न तयार नभएपछि पोखरेल र पौडेलले ओलीलाई सम्मानजनक विदाई गरेर पार्टी पुनर्गठन गर्ने रणनीति बनाएको बुभिएको छ । स्थापना दिवसको ब्यानरबाट ओलीको फोटो हटाइनुलाई यही रणनीतिको पहिलो खुड्किलो मानिएको छ ।

अहिलेको अवस्थामा ओलीसँग उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव महेश बस्नेत मात्रै देखिएका छन् । ओलीका अन्य पुराना सहयोगीहरूले समेत अब नयाँ नेतृत्व र वामपन्थी एकताका लागि ओलीको बहिर्गमन अनिवार्य भएको निष्कर्ष निकालेका छन् । पित्त थैलीको शल्यक्रियापछि आराम गरिरहेका ओलीलाई एकातिर स्वास्थ्यले साथ दिएको छैन, भने अर्कोतिर आफ्नै सारथिहरूले घात गर्दै गएका छन् ।

हिजोका दिनमा एमाले भनेकै ओली र ओली भनेकै एमाले भन्ने भाष्य बनाइएको थियो । तर, आज समयले कोल्टे फेरेको छ । वाम एकताको नयाँ सम्भावना र पार्टी पुनर्गठनको चर्चा चुलिँदै गर्दा ओलीका लागि अहिलेको समय प्रतिकूल छैन । हिजो ओलीमय देखिने एमाले अब ओली बिनाको एमाले बन्ने दिशामा अघि बढेको संकेत पछिल्ला घटनाक्रमले देखाएको छ ।

हेर्नुहोस् भिडियो:–

 


Facebook Comments