बालेन सरकार बनेपछि कर्मचारीको भागाभाग, सहसचिव-उपसचिवदेखि सचिवसम्मले छोडे जागिर

४ महिनामा झण्डै ४ सय जनाको राजीनामा, जागिर छोड्नेको दर अझै बढ्ने आशंका, यस्तो छ कारण

User Image मेयरसाप डेस्क | २०८३ भदौ ०६ गते १२:४६
Image of https://mayorsap.com/storage/photos/shares/nijamati.png

बालेन शाह नेतृत्वको सरकार बनेयता ठूलो संख्यामा निजामती कर्मचारीहरुले सेवाबाट राजीनामा दिएका छन् । राष्ट्रिय किताबखाना (निजामती) का अनुसार गत वैशाखदेखि साउन मसान्तसम्मको चार महिनाको अवधिमा ३७६ जना कर्मचारीले पदबाट राजीनामा दिएका हुन्।

राजीनामा दिनेमा प्रशासनको माथिल्लो तहका शक्तिशाली अधिकारीहरूको संख्या अस्वाभाविक रूपमा बढी देखिएको छ ।यस अवधिमा तीन जना सचिव, ७० जना सहसचिव र ६५ जना उपसचिवले सरकारी जागिर छोडेको किताबखानाको तथ्यांक छ ।

राजीनामा दिने सचिवहरूमा गोविन्द शर्मा र डा. कमलप्रसाद पोखरेललगायत रहेका छन् । त्यसैगरी, राजीनामा दिने ७० सहसचिवहरूमध्ये प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा कार्यरत सहसचिव लेखनाथ ज्ञवाली,  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जगेडामा रहेका सहसचिवद्वय विनोद लामिछाने र चन्द्रबहादुर शिवाकोटीले पदबाट राजीनामा दिएका छन् । राजीनामा दिने अन्य कर्मचारीहरूमा अधिकृत र सोभन्दा मुनिका सहायकस्तरका कर्मचारीहरू रहेका छन् ।

किताबखानाका कर्मचारीहरूका अनुसार यति छोटो अवधिमा यति धेरै उच्च अधिकारीले राजीनामा दिएको यो पहिलो पटक हो। अझ रोचक कुरा, यसअघि अनिवार्य अवकाशमा जाने कर्मचारीको संख्या बढी हुने गरेको थियो । तर अहिले राजीनामा दिएर सेवा छाड्नेको संख्या बढी छ। 

नेपाली निजामती प्रशासनमा एकैपटक यति ठूलो संख्यामा, विशेष गरी सहसचिव र उपसचिव तहका कर्मचारीले राजीनामा दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । सरकारी अधिकारीहरूका अनुसार यसको एउटा प्रमुख कारण सरकारले ल्याउन लागेको निजामती सेवा ऐन हो । प्रस्तावित व्यवस्थामा ५५ वर्षमा अनिवार्य अवकाश र ३० वर्षे सेवा अवधि तोक्ने तयारी छ। यही व्यवस्था लागू हुनुअघि नै सेवा छाडेर जान खोज्ने कर्मचारी बढेको हुनसक्ने अनुमान गरिएको छ।


Facebook Comments