मुलुकभरका शैक्षिक संस्था तीन दिनका लागि बन्द, विश्वविद्यालयको परीक्षा स्थगित
आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकभरका शैक्षिक संस्था बन्द गर्ने निर्णयको भएकाे बताइन ।
Mayorsap
आइत, असोज १३, २०८१ | ०७:४६ बजे
काठमाडौं । अविरल वर्षा र बाढीको प्रभाव बढेपछि मुलुकभरका सबै शैक्षिक संस्था आइतबारदेखि तीन दिनका लागि बन्द गरिएका छन्। साथै, विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगले आइतबार सञ्चालन गर्ने सबै परीक्षा स्थगित गरिएको छ। आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकभरका शैक्षिक संस्था बन्द गर्ने निर्णयको भएकाे बताइन ।
मन्त्री भट्टराईका अनुसार शनिबारको परीक्षामा उपस्थित हुन नसकेका विद्यार्थीलाई पुनः अर्को दिन परीक्षा दिन मिल्ने गरी निर्णय गरिएको छ। सोमबारदेखि सञ्चालन हुने परीक्षाको हकमा भने सम्बन्धित विश्वविद्यालयहरूले मौसमको अवस्थालाई हेरेर निर्णय गर्नसक्ने बताइएको छ।
त्रिभुवन विश्वविद्यालयलगायत अन्य विश्वविद्यालयले शैक्षिक क्यालेन्डरको दबाबका कारण शनिबार पनि परीक्षा सञ्चालन गरेको थियो। तर, देशभरको अवस्था सामान्य नभएसम्म परीक्षाहरू एक साताका लागि स्थगित गर्ने विषयमा विश्वविद्यालयहरूलाई परामर्श गरिएको थियो।
यसबाहेक, अधिकांश विद्यालयहरूमा कक्षा १२ सम्मकै विद्यार्थीहरूको प्रथम त्रैमासिक परीक्षा पनि सञ्चालन भइरहेको थियो। परीक्षा स्थगित गरिएका विश्वविद्यालय तहका परीक्षाहरू अन्तिम परीक्षा सकिएको दिनको भोलिपल्ट सञ्चालन गर्ने निर्देशन दिइएको छ।
बाढी र वर्षाले देशका धेरैजसो विद्यालय र विश्वविद्यालयहरूमा भौतिक संरचनामा क्षति पुगेको छ। विशेषगरी उपत्यकाबाहिरका धेरै जिल्लाहरूमा डुबानका कारण पठनपाठनमा अवरोध पुगेको छ।
सिन्धुलीमा फसेका विद्यार्थीको उद्धार
सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको कुशेश्वर गुरुकुलका २८ विद्यार्थी र गुरुसहित ३२ जनाको उद्धार भएको छ। सुनकोशी र रोशी खोलाको बाढीले घेरेपछि उनीहरू मन्दिर परिसरमै फसेका थिए। उनीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरिएको र गजुलीदहमा सुरक्षित रूपमा राखिएको गुरुकुलका गुरु नारायण घिमिरेले जानकारी दिएकी छन।