खोज तथा उद्धारका क्रममा ललितपुरमा मृत्यु भएका थप छ जनाको शव फेला : नेपाल प्रहरी
योसँगै मनसुनी बिपतमा परी ललितपुरमा मात्रै मृत्यु हुने ४० पुगेको प्रहरीले जनाएको छ ।
Mayorsap,विवेक मण्डल
मंगल, असोज १५, २०८१ | १६:३३ बजे
काठमाडौँ
असोज १५ गते,
वर्षाजन्य विपद्मा परी ललितपुरमा मृत्यु भएका थप छ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले मंगलबार दिएको जानकारी अनुसार विपत्तीको खोज तथा उद्धारका क्रममा सोमबारसम्म ३४ जना र मंगलबार बिहान थप छ जना मृत भेटिएका हुन् । योसँगै मनसुनी बिपतमा परी ललितपुरमा मात्रै मृत्यु हुने ४० पुगेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीले मंगलबार बिहान अद्यावधिक गरेको तथ्याङ्कअनुसार महाङ्काल गाउँपालिका वडा नं २ मानिखेल लक्ष्यबास बस्ने वर्ष ९ का आयुष स्याङ्तान, महाङ्काल–२ ठोस्ने खोला बस्ने एकै परिवारका वर्ष ४० की राममाया स्याङ्तान, निजका छोरा वर्ष १४ का अजय स्याङ्तान, अर्का छोरा वर्ष ११ का सुवास स्याङ्तान र छोरी वर्ष नौकी सलिना स्याङ्तानको शव फेला परेको छ ।
प्रहरी नायब उपरीक्षक अधिकारीका अनुसार वर्षाजन्य विपद्मा परेर अझै ११ जना बेपत्ता रहेका छन्। प्रहरीले अद्यावधिक गरेको तथ्याङ्कअनुसार इश्वर तिमल्सिना, उनकी आमा र श्रीमती गोमा,सेतु साह, देवराज कार्की, बिकाउ साह,विवेक सिंह,,केशव न्यौपाने ,सञ्जिता स्याङ्तान, छविलाल स्याङ्तान र छविलालकी भाउजु (नाम नखुलेको) बेपत्ता छन् ।