‘छोटे राजा’को अवतारमा बहुदरमाईका मेयरः सुन्दैनन् अरु जनप्रतिनिधिका कुरा, हाकिमलाई ‘भ्रष्टाचार’ गर्न दिन्छन् दबाब
तलब नपाएर पीडित छन् कर्मचारी, सामाजिक सुरक्षा भत्तासमेत रोकियो, बन्द हुँदै विद्यालय
आरसी
सोम, कार्तिक २६, २०८१ | १७:०८ बजे
काठमाडौं, कात्तिक २७ः चार–चार महिना तलब सुविधाबिना काम गर्दा कति अप्ठ्यारो होला ? अझ प्रमुख पर्वहरु दशैं, तिहार तथा छठमा पाउनुपर्ने तलब सुविधा नपाउँदा घरखर्च चलाउन कति गाह्रो होला ? हो, त्यस्तै अप्ठ्यारो पर्साको बहुदरमाई नगरपालिकाका नागरिक तथा कर्मचारीलाई परेको छ ।
निर्वाचित मेयरले आफूले भनेअनुसार काम नहुने भएपछि बजेट ल्याउन अवरोध गरेका कारण यस्तो समस्या भएको हो । पहिला पहिलाका राजाहरुले हुुकुमी शासन चलाएजसरी मेयरले पालिका चलाउन खोज्दा बहुदरमाई नगरपालिकाका नागरिक र कर्मचारीहरु पीडित भएका छन् । बृद्ध तथा अपाङ्ग नागरिकले सरकारले दिने भत्ता पाएका छैनन् । शिक्षकहरु विद्यालय बन्द गर्ने अवस्थामा पुगेका छन् । नागरिक र अन्य जनप्रतिनिधि भन्दैछन्, ‘मेयरले छोटे राजा’को अभ्यास गर्न खोजे ।
नगरपालिकाले असार १० गते नै नगरसभाबाट पास गर्नुपर्ने नीति तथा कार्यक्रम गत हप्ता अगाडिमात्रै पारित गरेको छ । त्यो पनि एक वडाले योजना नै बुझाएको छैन । नगरपालिकाको वडा नम्बर ६ का अध्यक्ष प्रमोद प्रसादले वडाका सदस्यहरुको सहमति नै नलिइ आफ्नै तरिकाले योजना लेखेर पठाएपछि कानूनविपरीत योजनाहरु आएको भनेर पालिकाको नगरसभामा पेश गराइएको छैन । उनले आफूले पठाएको योजनामा सबैको सहमति र हस्तक्षर आउने आश्वासनसमेत पठाए पनि त्यस्तो हुन सकेको छैन । स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएका प्रमोदले मेयर आफ्नो मान्छे भएका कारण वडाका अरु सदस्यहरुलाई ‘बाइपास’ गरी आफूलाई मन परेका योजना पठाएकाले समस्या भएको एक वडा सदस्यले जानकारी दिए ।
बल्लबल्ल अन्य जनप्रतिनिधि तथा कर्मचारीले फकाएर पारित गरेको नीति तथा कार्यक्रम उता जनता समाजवादी पार्टीबाट निर्वाचित मेयरले प्रमाणित नगरिदिँदा अझै समस्या बढेको छ ।
मेयर सिंहासन साह तेलीले आफूले भनेअनुसारका नीति तथा कार्यक्रम र खर्च पास गरिदिने शर्तमा मात्रै बजेट सञ्चालनको अख्तियारी प्रमुख प्रशासकीय अधिकृतलाई दिने बताएका थिए । तर प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफाले कानुनविपरीतका कुनै काम नगर्ने बताएपछि मेयर चिढिएका हुन् । प्रमुख प्रशासकीय अधिकृतले कुनै पनि योजना तथा कार्यक्रम नगरसभाले पारित नगरी खर्च गर्ने बाटो नखुल्ने बताएपछि मेयर प्रशासकीय अधिकृत मुस्ताफासँग रुष्ट भएका छन् ।
नगरसभाले २०८१/०८२ को नीति तथा कार्यक्रम पारित गरेपनि मेयर तेलीले प्रमाणिकरण गरी बजेट खर्च गर्ने अख्तियारी नदिँदा अहिलेसम्म पालिकाभरका शिक्षक, डाक्टर तथा अन्य कर्मचारीहरुले तलबभत्ता पाउन सकेका छैनन् । सामाजिक सुरक्षा लाभग्राहीले पनि गएको असारपछि कुनै भत्ता प्राप्त गर्न सकेका छैनन् ।
मुर्ख स्वभावका मेयर तेली आफ्नो मौखिक निर्देशनअनुसार प्रमुख प्रशासकीय अधिकृतले काम गर्नुपर्ने अड्डीमा बसिरहेका छन् । उता नागरिक तथा कर्मचारीहरु तलब सुविधा नपाउँदा पीडित भएका छन् । मेयर तेलीले चाडका अवसरमा तलब उपलब्ध गराइदिन्छन् कि भनेर बसेका शिक्षकहरु बिद्यालय बन्द गर्ने अवस्थामा पुगेका छन् ।
छठको अवसरमा आफ्ना कार्यकर्तालाई बजारबाट पालिकाको पैसा उपलब्ध गराउने शर्तमा उधारोमा किनेर मनपर्ने साडीहरु बाँडेका मेयर तेलीले त्यो पैसा पालिकाले तिरिदिने भए नगरसभाको माइन्युटमा प्रमाणिकरण गरिदिने शर्त प्रमुख प्रशासकीय अधिकृतलाई राखेको बुझिएको छ । तर प्रमुख प्रशासकीय अधिकृतले भने नगरसभाबाट पारित नभएका कुनै पनि कामका विषयमा भएका खर्च पालिकाको बजेटबाट तिर्न नसकिने बताइदिएका थिए । त्यसपछि मेयर तेली अहिले भएका प्रमुख प्रशासकीय अधिकृतलाई हटाएर आफूले भनेको मान्ने प्रमुख प्रशासकीय अधिकृतलाई ल्याएर मात्रै बजेट प्रयोग गर्न अख्तियारी दिने तयारीमा रहेका छन् । तर उनले भनेअनुसार मनलाग्दी विषयमा खर्च निकासा गरिदिने प्रमुख प्रशासकीय अधिकृत पाउन भने मुश्कील छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ मा स्थानीय तहले आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान नगरसभाबाट स्वीकृत गराई असार १० गतेभित्र पेश गर्ने र यसरी पेश भएको बजेट छलफल गरी असार मसान्तभित्र सभाबाट पारित गनुपर्ने व्यवस्था छ। सोही ऐनको दफा ७३ मा सभाबाट बजेट स्वीकृत भएको ७ दिनभित्र स्थानीय तहका प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई बजेट खर्च गर्ने अख्तियारी प्रदान गर्नुपर्ने व्यवस्था छ । तर मेयर तेलीले झण्डै दुई हप्ता कटिसक्दा पनि बजेट खर्च गर्ने अख्तियारी प्रदान गरेका छैनन् ।
निमाबि तहकाे शिक्षा लिएका मेयर तेली आफूले भनेअनुसार प्रमुख प्रशासकीय अधिकृतले काम गरिदिनुपर्ने अड्डी कस्छन् । नगरसभा समयमा गर्नुकाे सट्टा उनी उपमेयर तथा वडा अध्यक्षहरुको कुरा सुन्न पनि चाहँदैनन् । यही समस्याका कारण पालिकाले बजेट ल्याउन ढिलाइ गरेको हो । अब भने वडा अध्यक्षहरु अदालती प्रक्रियामा जाने तयारीमा छन् । मेयरले पालिकाको काम कारबाहीमा मनपरी गरेपछि आजित भएका उपमेयर र वडाअध्यक्षहरु दुई दिनभित्र मेयरले निकास नदिए अदालती प्रक्रियामा जाने तयारीमा छन् ।
उपप्रमुख सुष्माकुमारी कुसवाह नगर प्रमुख (मेयर) सिंहासन साह तेलीको ढिलासुस्ती र निर्णय प्रक्रियामा अवरोधका कारण बजेट कार्यान्वयनमा लैजान नसकिएको दाबी गर्छिन ।
मेयरलाई बजेट कार्यान्वयनमा लैजान किन ढिला गरेको भन्ने प्रश्न गर्दा उनले काम गर्दा गर्दै ढिलो भएको जिकीर गरे । हडबडिँदै बोलेका मेयर तेलीले सबै प्रश्नहरु सुन्दै नसुनी फोन सम्पर्क काटिदिए । फेरि उनीसँग सम्बाद गर्न खोज्दा सम्पर्क हुन सकेको छैन । फोन लागेपनि उनले फोन उठाएका छैनन् ।
असारमै पारित हुनुपर्ने बजेट कात्तिक ८ मा मात्र नगर सभाबाट पारित भयो । अहिले प्रमुख प्रशासकीय अधिकृतलाई मेयरले खर्चको अख्तियारी नदिएकाले छठमा तलब र भत्ताको निकासा रोकिएको उपमेयर कुसवाहले दाबी गरिन् ।
लामो समयदेखि तलब नपाउँदा शिक्षकहरूले चाडपर्वको बेला घर खर्च चलाउन गाह्रो भएको बताएका छन् । कर्मचारीहरुलाई पनि दैनिकी चलाउन गार्हो भएको बताउँछन् ।
नगरले नीति तथा कार्यक्रम पारित गरे पनि मेयरले प्रमाणिकरण नगरिदिँदा पालिकाले फेरि नगरसभा गर्नुपर्ने हो कि भन्ने आशंका पनि उब्जिएको छ । प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफाले भने त्यस्तो अवस्था आएमा पालिका अझ जटिल समस्यामा पुग्ने बताउँछन् । उनले त्यस्तो समस्या सम्भवत नआउने बताए । बजेट पास गर्नै ढिलो भएको र नागरिक तथा कर्मचारी जनप्रतिनिधिसँग रुष्ट भएका कारण त्यस्तो समस्या सम्भवत नआउने जिकिर प्रमुख प्रशासकीय अधिकृत मुस्तफाको छ ।