रामपुरका तीन सय सात जना किसानलाई अनुदानमा गहुँको बीउ वितरण
Mayorsap
मंगल, कार्तिक २७, २०८१ | ११:०६ बजे
रामपुर (पाल्पा), कात्तिक २७: रामपुर नगरपालिकाका किसानलाई अनुदानमा गहुँको बीउ वितरण गरिएको छ ।
एक हजार छ सय २८ किलो गौतम, पाँच हजार आठ सय ३२ किलो विजय जात गरी जम्मा सात हजार चार सय ६० किलो गहुँको बीउ वितरण गरिएको कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिनुभयो । रामपुरका तीन सय सात जना किसानले अनुदानमा गहुँको बीउ प्राप्त गरेका छन् ।
नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई बीउ उपलब्ध गराएको छ । सार्वजनिक सूचना जारी गरी किसानको मागका आधारमा बीउ उपलब्ध गराइएको कृषि शाखाले जनाएको छ । नगरपालिकाको अनुदान सहयोगमा बीउ पाएपछि किसानमा उत्साह थपिएको मथुरा ढकालले बताउनुभयो । नगरपालिकाले सार्वजनिक सूचना जारी गरी किसानको मागका आधारमा धान, गहुँ, मकैलगायत बीउबिजन वितरण गर्दै आइरहेको छ ।