तस्विरहरुमा हेर्नुहोस काठमाडौँ महानगरपालिकाको ३० औँ स्थापना दिवस
समारोहमा १० जना स्रष्टालाई सम्मान
Mayorsap
आइत, मंसिर ३०, २०८१ | १५:५५ बजे

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको ३० औँ स्थापना दिवस सम्पन्न भएको छ । शनिवार टुँडिखेलमा आयोजना गरिएको ३० औँ महानगर दिवसको मुल समारोहमा उपस्थित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विकास, सहरी व्यवस्थापन र सेवा प्रवाहमा काठमाडौँ महानगरपालिकाको अभिभावकीय भूमिका प्रशंसनीय बताएका छन । यसबाट नागरिकलाई सरकारप्रति भरोसा र विश्वार जागृत भएको उनको भनाइ छ । उनले भने, ‘जनस्वास्थ्य, वातावरणीय सुधार, सामुदायिक विद्यालयको शैक्षिक स्तरउन्नति, रोजगारी र आयसहित पूर्वाधार, आर्थिक तथा सामाजिक विकासका क्षेत्रमा महानगरपालिकाकाले सम्पन्न गरेका काम काम र हासिल गरेका उपलब्धि अनुकरणीय, अनुसरणीय र सिकाइ योग्य रहेका छन् ।’
‘गएको आर्थिक बर्षदेखि महानगरपालिकाले कार्यान्वयनमा ल्याएका महानगर गौरवका योजनाले दिगो रणनीतिक विकास र सहजतामा टेवा पुग्ने ठानेको छु । स्वर्णिम योजनाबाट आम नागरिकसँग प्रत्यक्ष जोडिएका स्वास्थ्य, शिक्षा, खेलकुद, सिप तथा क्षमता विकाससहित रोजगार प्रवर्धन, वातावरण सुधार र पूर्वाधार कार्यमा तत्काल लाभ प्राप्त हुन सक्ने ठानेको छु ।’ उनको भनाइ थियो ।
त्यस क्रममा महानगरपालिकाका प्रमुख एवं दिवस मुल समारोह समितिका संयोजक बालेन्द्र शाह (बालेन) ले, महानगरपालिकाको संस्थागत विकास र सुशासनमा योगदान पु¥याउने सबैको योगदान कदर योग्य भएको बताए । ‘सफाइकर्मी, नगर प्रहरी, राष्ट्रसेवक कर्मचारीसहित काठमाडौँलाई काठमाडौँ महानगरपालिका बनाउने सबैप्रति आभार प्रकट गर्न चाहन्छु ।’
‘संघीय राजधानी सहर भएकोले यस सहरलाई सबैले आफ्नो भन्न सक्ने, बस्न योग्य, व्यवस्थित र सुरक्षित सांस्कृतिक सहर निर्माण गर्न क्षेत्रगत सहयोग निरन्तर प्राप्त भइरहने अपेक्षा गरेको छु ।’ प्रमुख शाहले भने, ‘सबैको प्रयत्नबाट यो सम्भव छ ।’
‘काठमाडौँलाई वैवभशाली र पहुँचयुक्त सहर बनाउन क्षेत्रगत नीति, योजना र कार्यक्रममार्पmत महानगरपालिकाले काम गरिरहेको छ ।’ कार्यक्रममा बोल्दै उपप्रमुख सुनिता डंगोलले, ‘सन्तुलित विकास निर्माण, विकास व्यवस्थापन तथा सहरी सेवा सुविधाको न्यायोचित उपयोगका लागि आवश्यक सबै अङ्गको सवलीकरणलाई एकीकृत र समन्वयात्मक पद्धतिबाट कार्यान्वयन गरिरहेका छौँ ।’
नागरिकमैत्री, मितव्ययी, प्रभावकारी, नतिजामूलक, सहभागितामूलक र पारदर्शी सेवाका लागि सूचना प्रविधिको अधिकतम र प्रभावकारी प्रयोग गरिएको उनको भनाइ थियो ।
सामाजिक उन्नयनका लागि विभिन्न क्षेत्रमा रहेर योगदान पु¥याउने १० जना व्यक्तित्वलाई समारोहमा सम्मान गरिएको थियो । उपराष्ट्रपति यादव, प्रमुख शाह र उपप्रमुख डंगोलले उनिहरुलाई सम्मानित गरेकी थिईन् ।
यसरी सम्मानित हुनेमा लोक गायनका क्षेत्रबाट कुमार बस्नेत, चित्रकला क्षेत्रबाट किरण मानन्धर, स्वास्थ्य क्षेत्रबाट डा.अरुण सायमी, राजनीति र समाज सेवातर्फबाट महानगरपालिकाका पूर्व प्रमुख पि.एल. सिंह, कलाकारितामा चलचित्र क्षेत्रबाट नरेन्द्र कंसाकार, साहित्य क्षेत्रबाट मल्ल के. सुन्दरलाई सम्मान गरियो । यस्तै खेल क्षेत्रतर्फ तेक्वान्दोबाट संगिना वैद्य, भलिवलबाट प्रतिभा माली र क्रिकेटबाट ज्ञानेन्द्र मल्ल सम्मानित भए । सम्मानित व्यक्तित्वहरुलाई नगद १ लाख ५० हजार रुपैयाँसहित दोसल्ला ओढाइएको थियो ।
१९९६ पुस ३ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत जग महानगरको इतिहास हो । ०५२ साल मंसिर २९ गते काठमाडौँ नगरलाई काठमाडौँ महानगर घोषणा गरिएको हो । यसै दिनलाई महानगर दिवसका रुपमा मनाउने गरिएको छ ।



























