५ प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा दर्ता
Mayorsap
सोम, फागुन २६, २०८१ | १९:०५ बजे

काठमाडौं । प्रतिनिधिसभामा विभिन्न ५ वटा प्रतिस्थापन विधेयक दर्ता भएको छ ।
संसद् अधिवेशन नरहेका बेला सरकारले विभिन्न ६ वटा अध्यादेश जारी गरेको थियो । तीमध्ये ५ वटा अध्यादेश दुवै सदनबाट स्वीकृत भइसकेको छ ।
तिनै पाँच अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा दर्ता भएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालययले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक दर्ता गरेको छ ।
यस्तै, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक अर्थ मन्त्रालयले दर्ता गराएको छ ।
निजीकरण (पहिलो संशोधन) विधेयक र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक पनि अर्थ मन्त्रालयले नै दर्ता गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक ल्याएको छ ।
यी विधेयकहरू अगाडि बढाउने विषयमा सोमबार प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल भएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा यी प्रतिस्थापन विधेयक अगाडि बढ्ने छन् ।