मेयरसाप

केपी ओली

भरतपुर महानगरपालिका

राजनीति

सम्पादकीय

स्वास्थ्य

हेटौंडा उपमहानगरपालिका

शौचालय

हाटबजार

बौद्धीमाई नगरपालिका

कानेपोखरी गाउँपालिका

आलु

मेयरसापमा २०८१ सालः संघीय सरकारसँग बालेनको लडाईँदेखि शिक्षक आन्दोलनसम्म !

Mayorsap

आइत, चैत ३१, २०८१ | २१:३२ बजे

काठमाडौं । देशमा भएका धेरै आन्दोलनको साक्षी मेयरसाप डटकम हुन नसके पनि पछिल्लो समय विक्रम सम्बत् २०८१ सालमा देशभर भएका गतिविधिको गतिलो साक्षीका रुपमा मेयरसाप डटकम उभिएको छ ।

 

२०८१ सालबाट सक्रिय रुपमा समाचार संस्थाहरुको भीडमा एक इँट्टा थप्दै अगाडि बढ्दा मेयरसाप डटकमले स्थानीय सरकारका काम, गतिविधि, समस्या र अभावलाई पहिलो प्राथमिकतामा राखेर राम्रोसँग नियालेको छ । खबरदारी गरेको छ । गल्तीलाई उजागर गरेको छ । राम्रा कामहरुको प्रचार पनि गरेको छ भने कुनै पक्ष वा विपक्षतिर झुकाव नराखी स्वतन्त्र रुपमा सरकारका गतिविधिहरुमा सुधार ल्याउने प्रयत्न गरेको छ ।

 

आजसम्म वि.स. २०८१ साल नै रहेको छ । यो वर्ष देशभर सहकारी घोटालाको विषय सबैभन्दा चर्चाको विषयका रुपमा रह्यो । यो वर्षमा स्थानीय तहदेखि संघीय सरकारसम्मका केही घटनाको साक्षी मेयरसाप डटकम बनेको छ । सहकारी घोटालादेखि वडा अध्यक्षले कर्मचारी कुटेकासम्म घटनामा मेयरसाप डटकम साक्षी रहेको छ ।

 

बाग्लुङको डोरपाटन नगरपालिकाका मेयर देवकुमारी नेपाली भागेर भारतको दिल्लीमा रहेका बेला प्रहरीले पक्राउ गरी नेपाल ल्यायो । उनीमाथि डेढ अर्बभन्दा बढी सर्वसाधारण नागरिकले सहकारीमा जम्मा गरेको रकम अपचलन गरेको आरोप लाग्यो । बागलुङ र पोखरामा इमेज सहकारी खोली सर्बसाधारण नागरिकको पैसा अपचलन गरेको आरोप उनीमाथि लागेको छ । उनले केही बचतकर्तासँग मेलमिलाप गरे पनि अझै धेरै नागरिकको सहकारीमा जम्मा गरेको पैसा फिर्ता तिर्न बाँकी छ । उनी अहिले बागलुङ कारागारमा छन् । एक अर्ब ८० करोड बिगो दाबी नेपालीसँग गरिएको छ ।

 

पर्साको बहुदरमाई नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको लडाईँ पनि यस वर्ष सबैभन्दा चर्चित घटना बनेको छ । मेयर सिंहासन साह तेलीले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्ताफालाई पालिकाको बजेट चलाउने अनुमति नदिँदा पालिकामै तोडफोड र आगजनीका काम पनि भए । बजेट समयमै कार्यान्वयमा गएन । गएको फागुनमा मात्रै कर्मचारीहरुले तलब सुविधा लिन पाए । अहिले बहुदरमाई नगरपालिका शान्त भएको छ ।

 

काठमाडौं महानगर पनि यो वर्ष चर्चामै रह्यो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई सरुवा गरेपछि सरकारले कामनपामा सरोज गुरागाईँलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाएको थियो । तर सरोज गुरागाईँ र मेयर बालेनबीच सम्बन्ध राम्रो भएन ।

 

मेयरमा बालेन निर्वाचित भएपछि कामनपामा लोकनाथ पौड्याल, बसन्त अधिकारी, प्रदीप परियार र सरोज गुरागाईँ प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा रहे । गुरागाईँ अहिले पनि काठमाडौं महानगरमै रहेका छन् ।

 

बालेन मेयरमा निर्वाचित हुनुभन्दा अघिदेखि प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेका लोकनाथ पौड्यालले मेयर बालेन निर्वाचित भएपछि तीन महिनासम्म काम गरे । त्यसपछि उनको सरुवा भयो र महानगरमा प्रमुख प्रशासकीय अधिकृत बनेर आए बसन्त अधिकारी । उनले मेयर बालेनसँग १६ महिना काम गरे । तर उनले एक कर्मचारीलाई नगरसभाको स्वीकृति बिना नियुक्ति दिएको भनेर मेयर बालेनले कार्यालयमा आउनै दिएनन् । कार्यकक्षमा ताला नै लगाइदिए । उनको सरुवा भयो ।

 

महानगरमा अर्का प्रमुख प्रशासकीय अधिकृतको रुपमा प्रदीप परियार आए । परियार र मेयर बालेनबीच राम्रो सम्बन्धकै बीच उनको सरुवा सरकारले गरिदियो । त्यसपछि महानगरमा सरोज गुरागाईँले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाए ।

 

गुरागाईँले गएको असोजमा महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका हुन् । गुरागाईँले काठमाडौं टावर भवन निर्माणको नक्सा प्रक्रिया पूरा नगरी पास गरेको अभियोग लाउँदै मेयर बालेनले उनको सचिवालयका कर्मचारीलाई कार्यकक्षमा ताला लगाइदिन र गुरागाईँलाई बिदामा बस्न दवाव दिए ।  गएको पुस ५ गते महानगरले पत्रकार सम्मेलन गरी भवन निर्माणको स्वीकृतिको विषयमा छानबिन गर्ने जानकारी दियो । छानबिन समिति बन्यो । तर छानबिन समितिको प्रतिवेदन बनेन ।

 

उता सरकारले नयाँ प्रमुख प्रशासकीय अधिकृत पनि पठाउन सकेन् । यो विवाद बालेन र संघीय सरकारबीच टकराबको रुपमा पनि रह्यो । मेयर बालेनले बेला बेला मर्यादाविपरीत टुकुचामा गाड्नेजस्ता अभिव्यक्ति समेत दिन भ्याए । अन्तमा गुरागाईँ वडा अध्यक्षहरु र उपमेयर साथै कर्मचारीहरुको सहयोगमा कामनपामा प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा फर्के । तीन–चार महिना रोकिएको तलब सुविधा उपलब्ध गराए । मेयर बालेन र गुरागाईँको सम्बन्ध अझै सुधार भएको देखिँदैन ।

 

कास्कीको पोखरा महानगरपालिका पनि यो वर्षमा विवादमा तानियो । कोटिहोमको काण्डमा वर पिपलका रुख काट्न दिएर पोखरा महानगरका मेयर धनराज आचार्यको बिरोध भयो ।

 

धनुषाको नगरराइन नगरपालिकामा मेयर र उपमेयर साथै वडा अध्यक्षहरुबीचको झगडाले नगरपालिकाको विकासको काम ठप्प भएको छ । मेयरसाप डटकमले यो विषय पनि उठाएको छ । उपभोक्ता समिति गठन गर्ने अधिकार कसमा राख्ने भन्ने सामान्य विवादमा नगरपालिकाका जनप्रतिनिधि अल्झिएका छन् । नगरपालिकाका जनप्रतिनिधिहरुबीचको विवाद नसल्टिँदा विद्यालयका साना बालबालिकाले खाजाको पैसा समेत पाएका छैनन् । कर्मचारीहरु कामविहीन भएका छन् । विकासका काम अलपत्र परेको छ ।

 

ललितपुरको गोदावरी नगरपालिकाका मेयर, उपमेयर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलगायत कर्मचारीहरु भ्रष्टाचार मुद्दामा निलम्बनमा परेर फेरि सफाई पाएको घटना पनि ताजै छ । नदीजन्य सामाग्रीको कारोबारको विषयमा उनीहरु संलग्न रहेको आरोप पनि लागेको थियो ।

 

रुपन्देहीको रोहिणी गाउँपालिकाको कार्यपालिका बैठकमै वडा नम्बर २ का अध्यक्ष करम हुसेन खानले शिक्षा शाखा प्रमुख मधुप्रसाद घिमिरेमाथि गालीगलोज गरी हातपात गरेको विषय पनि चर्चित बन्यो । पालिकामा कर्मचारीहरुले विरोध जनाउनुका साथै कामकाज नै ठप्प पनि पारे ।

 

ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले खेतीयोग्य जमिन बाँझो राख्ने किसानलाई सरकारले तोकेअनुसारको मलपोत कर बराबर जरिवाना लगाउने नयाँ नीति बनाएर चर्चामा रह्यो ।


धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले पानीको माग गर्दै संघीय सरकारमै रित्तो गाग्री बोकेर आन्दोलन गर्न भ्याए । तर समाचार लेखेकै आधारमा उनले पत्रकारहरुविरुद्ध दुव्र्यवहार गर्न पनि भ्याए । बेलायत भ्रमण गर्न जाँदा उपमेयरलाई दिनुपर्ने कार्यबहाकको जिम्मेवारी वडा अध्यक्षलाई दिएर मेयर राई विवादित बन्न पुगे ।

 

नीतिगत भ्रष्टाचार गरी ९ करोड २२ लाख घुस लिएको आरोपमा काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण मुद्दामा परे । पद्मा कोलोनी, पद्मा मर्चेन्ट कम्पनी तथा जगतगुरु कृपालु प्रतिष्ठानलाई कानुनविपरीत नगरपालिकाबाट विभिन्न नीतिगत निर्णय गरेर सघाएको आरोप बस्नेतमाथि लाग्यो ।

 

सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापा पनि भ्रष्टाचार मुद्दामा निलम्बनमै रहेका छन् । उनीविरुद्ध ५ करोडभन्दा बढी अवैध तरिकाले सम्पकमाएको आरोप छ ।

 

त्यस्तै केही स्थानीय तहहरुमा रिक्त रहेका जनप्रतिनिधिहरुको पद चुनावमार्फत पूर्ति भयो । पालिकाहरुले जनप्रतिनिधि पाए ।

 

यो वर्ष शिक्षकहरु आन्दोलनमा उत्रिए । गएको साउनदेखि विद्यालय तहका कर्मचारीदेखि शिक्षकहरु पेशागत सुरक्षा तथा विकास वृद्धिको मागसहित सरकारविरुद्ध सडक संघर्षमा रहेका छन् ।

 

राजनीतिक रुपमा राजापक्षको आन्दोलन चर्किएर तीनकुनेमा सरकारी तथा निजी क्षेत्रमा धेरै क्षतिसमेत भयो । यो आन्दोलन अझै सेलाएको छैन ।

 

यस्तै यस्तै घटनाको साक्षी मेयरसाप डटकम बिक्रम सम्वत २०८१ मा बन्यो । अब अर्को भोलिबाट सुरु हुने नयाँ वर्ष २०८२ मा पनि मेयरसाप डटकम देश विदेशमा हुने घटनाको साक्षी भएर अगाडि बढ्नेछ । अझ सशक्त भएर स्थानीय सरकारका गतिविधिहरुलाई उजागर गर्ने छ । सरकारलाई खबरदारी गर्ने छ । नागरिकलाई सचेत र सूसुचित गराउने छ ।

 

यो वर्ष तपाईँ पाठक वर्ग तथा दर्शकवर्गले मेयरसाप डटकमलाई जति विश्वास गर्नुभएको छ, त्यो विश्वासलाई अझ माथि उचाल्ने र थप पाठन वर्ग तथा दर्शक वर्ग जोड्ने प्रयत्नमा हामी २०८२ साललाई स्वागत गर्दछौं । मिडियाको रुपमा हामीलाई विश्वसनीय बनाउन तपाईँहरुले खेल्नुभएको भूमिकाप्रति आभार व्यक्त गर्दै नयाँ वर्ष २०८२ सालको शुभकामना !

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology