के मधेशी महिलाले न्याय पाउन मृत्युवरण नै गर्नुपर्ने हो ? (भिडियोसहित)
बाचुञ्जेल न्याय नपाएकी आनन्दीदेवीले मरेपछि कसरी न्यायको महसुस गर्लिन ?
Mayorsap
शुक्र, बैशाख ५, २०८२ | १३:२८ बजे

काठमाडौं । घटना हो सिराहाको । आनन्दीदेवी सदा बिहानको समयमा आफ्नो दिदीलाई भेट्न जाँदैथिइन । दिदी बस्थिन् सिरहाकै बरियारपट्टी गाउँपालिका–१ को नर्गीमा । आनन्दीदेवी विवाहित महिला हुन् । उनको एक बच्चा पनि छ । उनका श्रीमान थिए वैदेशिक रोजगारीमा ।
माइती घरमै बसेकी आनन्दीदेवी सिराहाको नवराजपुर वडा नम्बर ३ जगतपुर दौनवारी टोलबाट नर्गी जाँदा बाटोमै जबरजस्ती करणीको प्रयासमा परिन् । दिनदहाडै दिदीको घर हिँडिरहेकी आनन्दीदेवीलाई गाउँकै २२ वर्षका संजिवकुमार यादव र ३२ वर्षका श्यामसुन्दर यादवले पछाडिबाट कपालमा समातेर ताने । मुख थुने । जबरजस्ती बाटोमै बलात्कारको प्रयास गरे ।
भएभरको बल लगाएर आनन्दीदेवीले प्रतिकार गर्न खोजिन् । दुब्र्यबहार गर्नेहरुलाई टोकेर, चिच्याएर उनी त्यहाँबाट भाग्ने प्रयासमा रहिन् । अन्ततः उनी त्यहाँबाट उम्कन सफल भइन । ज्यान जोगाउन माइती घर नै फर्किइन । आफू दुव्र्यबहारमा परेको आमालाई सुनाइन् ।
आमाको सहयोगमा उनी नजिकैको प्रहरी बिट सुनबर्षामा गएर घटनाबारे जानकारी गराइन् र अपराधिलाई कार्बाही गर्न माग गरिन् । त्यहाँको प्रहरीले आफूहरुले केही गर्न नमिल्ने बतायो र इलाका प्रहरी कार्यालय लक्ष्मिपुर पतारी जान भन्यो । आमाको साथमा उनी लक्ष्मिपुर पतारी इलाका प्रहरी कार्यालय पुगिन् ।
घटना हो गएको पुस ९–१० गतेको । प्रहरीले उनीहरुको कुरा सुने पनि मुद्दा दर्ता गरेर कार्बाही अगाडि बढाउन चाहेन । हामीले पाएको जानकारीअनुसार प्रहरीलाई आनन्दीदेवीमाथि बलात्कारको प्रयास गर्ने केटाहरुका परिवारले प्रहरीलाई मुद्दा दर्ता नगराउन दवाव दिएको पाइयो । एक पीडित महिला न्याय माग्न प्रहरीकोमा जाँदा प्रहरीले तत्काल निवेदन दर्ता गरेर कार्बाही किन अगाडि बढाएन ? यो घटनाले प्रहरीको काममाथि गम्भीर प्रश्न उठाएको छ ।
सोचेजस्तो सहयोग प्रहरीबाट नपाए पनि उनीहरु प्रहरीले घटनाको अनुसन्धान गर्ने आशमा घर फर्किए । यो घटनाको हल्ला गाउँभर फैलिइसकेको थियो । दुव्र्यवहार गर्ने युवाहरु खुलमखुल्ला घुमिरहेका थिए । अनौठो त के थियो भने– गाउँघरमा अगुवा भन्नेहरु आनन्दीदेवी र उनको परिवारलाई घटना प्रहरीकोमा नलैजान र गाउँमै मिल्न चर्को दबाव दिइरहेका थिए ।
गाउँका अगुवा अझ शिक्षकहरुले नै आनन्दीदेवीलाई दुई लाख रुपैयाँ लिएर घटना गाउँमै मिलाउन भनेको विषयले यो घटना दवाउन कस्तो प्रभाव रहेछ भन्ने सजिलै बुझ्न सकिन्छ । आनन्दीदेवीले आफ्नी आमाको सहयोग त पाएकी थिइन् । तर उनी बिवाहित भएका कारण श्रीमानको पनि उनलाई त्यतिकै साथ चाहिएको थिायो । उनी पीडित बनेको विषय आनन्दीदेवीका श्रीमानले पनि जानकारी पाए । विदेशमा भएका उनी नेपाल फर्किए ।
तराईको समाजकै असर त होला नि– आनन्दीदेवीका श्रीमानले पनि नेपाल आएर न्याय लड्न आनन्दीदेवजीलाई सहयोग गरेनन् । बरु आनन्दीदेवीसँग उनी बोल्नै छोड । फोन सम्पर्क पनि टुट्यो । उनका श्रीमानले बच्चा पनि माइतमै राख्नु र उतै बस्नु भनेर आनन्दीदेवीसँग सम्पर्क टुटाएका थिए ।
यता आनन्दीदेवी प्रहरीले उजुरी लिएर कार्बाही अगाडि बढाओस् भन्ने चाहनामा थिइन् । उनकी आमालाइृ समेत गाउँका मान्छेले छोरीको विषयमा गाउँमै मिल्न दबाव दिएका थिए । तर आनन्दीदेवीकी आमाले गाउँलेका कुराविरुद्ध प्रतिकार नै गरिन् । उता आनन्दीदेवीको विषयमा उजुरी नलिन र अनुसन्धान नगर्न प्रहरीलाई चर्को दबाब गएको पनि देखिन्छ ।
आनन्दीदेवी र उनकी आमाले हिम्मत गरे–प्रहरीलाई निवेदन दर्ता गरेर मुद्दा चलाउन दबाव दिए । निवेदन दर्ता नगरे मिडियामा जाने भनेपछि प्रहरीले निवेदनसम्म त दर्ता गर्यो । त्यतिबेलासम्म घटना भएको अढाई महिना बितिसकेको थियो । अर्थात फागुन २५ गते प्रहरीले निवेदन दर्ता गर्यो । फागुन २६ गते बलात्कारको प्रयास गर्ने दुई युवाविरुद्ध अदालतले पक्राउ पूर्जी जारी गर्यो ।
यतिञ्जेलसम्म आनन्दीदेवीले समाजबाट दुव्र्यबहार भोगिसकेकी थिइन् । दुव्र्यबहार घट्ने होइन बढ्नेक्रममा थियो । श्रीमानसँग सम्पर्क नै टुटेको थियो । यता निरन्तर उनलाई मिल्न चेतावनी र दवाव आइरहेको थियो । प्रहरीले अभियुक्त पक्राउमा खासै चासो दिएको थिएन । सबैतिरको असहयोगका कारण २४ वर्षकी आनन्दीदेवी हरेस खाने अवस्थामा पुगिन् । अन्ततः गएको वैशाख २ गते माइतीघरमै आनन्दीदेवीले मृत्यु रोजिन् । कोही नभएको समयमा उनले पासो लगाएर मृत्युवरण गरिन् । त्यसपछि प्रहरी प्रशासनदेखि समाजमा खैलाबैला मच्चियो । आनन्दीदेवीको लागि न्याय दिलाउन गृहमन्त्री रमेश लेखकबाटै निर्देशन समेत भयोे ।
बाचुञ्जेल न्याय नपाएकी आनन्दीदेवीले मरेपछि कसरी न्यायको महसुस गर्लिन ?
प्रहरी प्रशासनको असहयोग र समाजको महिलामाथि हेर्ने गलत दृष्टिकोणबाट एक सन्तानकी आमा, २४ वर्षकी आनन्दीदेवी सदाले मृत्यु नै रोज्नु पर्यो । न्यायको विकल्पमा मृत्यु रोज्नुपर्ने घटना यो मात्रै पहिलो होइन । यही प्रकृतिका घटना विशेष गरी तराईँमा बढ्दो क्रममा छन् । गएको केही दिन अघि, मधेश प्रदेशका पूर्व प्रमुख डा.राजेश अहिराजबिरुद्ध पनि एक नाबालिगले जबरजस्ती करणीको मुद्धा दर्ता गरेको घटना सार्वजनिक भएको छ । यो प्रकरण पनि पुरानै भएको र अहिलेका एकपछि अर्का घटना सतहमा आउँदा प्रहरीले अभियान्ताहरुको दबावपछि मात्रै अनुसन्धान अगाडि बढाएको देखिन्छ ।
सामान्य व्यक्तिहरुले गरेको अत्याचारमा त न्याय पाउन यति मुश्कील मधेश प्रदेशमा भीभीआइपी जोडिएका अपराधमा कस्तो अवस्था होला, अनुमान गर्न पनि सकिँदैन ।
गत मंगलबार नै सप्तरीको सुरुङ्गा नगरपालिका–७ हरिपुर रामटोलकी १८ वर्षीया दलित पूजाकुमारी राम आफ्नै घर नजिकै मृत भेटिइन । घरबाट राति बेपत्ता भएकी पुजाको शव बिहान घरभन्दा एक किलोमिटर पर भेटिएको थियो । यो घटनामा पनि यौन हिंसा नै जोडिएको छ । तीन वर्षअघि २०७८ मंसिर १४ मा विद्यालयबाट फर्किरहेको अवस्थामा पूजामाथि बलात्कार प्रयास भएको थियो । पढ्दै गरेकी एक युवती हिंसाविरुद्ध लड्ने अवस्था त्यो समाजमा भएन । बरु उल्टै उनले यौन हिंसामा पर्ने डरले विद्यालय छाडिन् । घरबाट एक्लै बाहिर निस्किन छाडिन् । कसैसँग बोल्न छाडिन् । तर पनि पूजा सुरक्षित हुन सकिनन् । गएको मंगलबार घरैबाट बेपत्ता भएकी पूजा मृत अवस्थामा भेटिन् ।
तीन वर्षअघि उनलाई बलात्कार प्रयास गर्ने युवकलाई उमेरमा १६ वर्षमात्र पुगेको भन्दै ८ महिनामात्र कैद सजाय तोकियो । तर प्रहरीले घटनाबारे यति नजरअन्दाज गर्यौ कि दोषी युवकलाई पक्राउ गरी कार्बाहीको भागिदार बनाएन । दोषी युवक फरार भएको प्रहरीले जनाइरह्यो । ठूलठूला घटना अनुसन्धान गर्न सक्षम हुने नेपालको प्रहरी पीडित दलित र गरिब महिलाहरुले न्याय माग्दा चाहिँ अनुसन्धान गर्न सधैँ लाचार हुँदै गयो । दोषी युवक फरार भएको जानकारी पाएपछि पूजालाई हिँडडुल गर्न अझ डर भयो । अन्ततः सोमबार साँझ घरैबाट उनी गायब भइन् । खोज्दै जाँदा उनको लास भेटियो । प्रहरीले पूजाको लास भेट्टाएपछि बल्ल चासो दिएर अनुसन्धान सुरु गरेको छ ।
यसअघि पनि सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु सदा सामुहिक बलात्कारमा पर्दा जनप्रतिनिधिकै रोहवरमा पञ्चायती बसेर घटना मिलाए । दुई पटकसम्म पञ्चायती बसेर पैसामा मिल्ने प्रयास भएकै साँझ रिंकु आफ्नै घरको कोठामा झुन्डिएको अवस्थामा मृत भेटिइन् ।
यी त केही प्रतिनिधि घटना मात्र हुन् । मधेसी दलित समुदायका महिलाहरु हिंसामा पर्दा पनि न्याय नपाउने अवस्थाले राज्यको संरचनामाथि नै प्रश्न उठाउन थालेको छ । प्रहरीको कामकार्बाहीप्रति जनविश्वास घट्दै गएको छ । पिछडिएको सोच भएको समाज सुधार्न पहल गर्न नसकेको राज्यमाथि नै नागरिकहरुको अविश्वास पैदा भएको छ । जनप्रतिनिधिदेखि सरकारी कर्मचारीसम्म पावर र पैसामा बिकेको अनुभव आम नागरिकले गर्न थालेका छन् ।
भिडियाे :