Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

सिराहामा वडा अध्यक्षको सेटिङमा लाखौं भारु लिएर भारतीय नागरिकलाई दिइयो नेपाली नागरिकता

स्थानीयबासीले उजुरी दिँदा पनि जिल्ला प्रशासन सिराहाले गरेन अझै कार्बाही

User Image मेयरसाप डेस्क | २०८१ फागुन ११ गते १३:४६
Image of storage/news/1740404767.jpeg

सिराहा ।  सिराहामा जनप्रतिनिधि र कर्मचारीको मिलेमतोेमा भारतीय नागरिकलाई नेपाली नागरिकता उपलब्ध गराइएको छ । सिराहाको नरहा गाउँपालिका ३ का वडा अध्यक्ष रुस्तम अन्सारी र वडा सचिव रामदेव मण्डलले आर्थिक चलखेल गरी भारतको बिहार राज्यको मधुबनी जिल्लाको जयनगर ग्राम पञ्चायत देउधाका मोसताक मियाँलाई नेपाली नागरिकता बनाउन फर्जी सिफारिस दिइएको खुलेकाे छ।

हेर्नुहाेस्, नागरिकताकाे सिफारिश

वडा अध्यक्ष अन्सारीकै सेटीङमा नक्कली बुवा–आमा खडा गरी मियाँलाई नागरिकता दिएको स्थानीय नागरिकहरुको भनाई छ।  अक्षर समेत नचिन्ने नरहा गाउँपालिका ३ खोरियाका अमानत मियाँ (नागरिकता नं. १५३०७०/८२) र उनकी पत्नी रजिना खातुन (नागरिकता नं. १५–०१–७६०१३३५) लाई वडा सचिव र वडा अध्यक्ष अन्सारीले नक्कली आमा/बुवा देखाएर सनाखत गर्न लगाई भारतीय नागरिकलाई सिफारिश दिएको खुलेको हो ।

 

अमानत मियाँ भने आफूले सिफारिश लिँदा कुनै पैसा नदिएको बताउँछन् । उनी भन्छन, ‘मेरो छोरोको  नागरिकता बनाउनको लागि सिफारिस लिन गएको बेला सचिवले ‘यसमा पनि सही गरिदेउ’ भनेकाले सही गरिदिएको थिएँ । उनले मेरै छोरा बनाएको भन्ने मैले पछि मात्र थाहा पाएँ । मलाई सचिवले अलमल्याएर सही गर्न लगाएका हुन् । मोस्ताक मेरो छोरो होइन ।’ 
 

एक स्थानीयले पैसाको प्रलोभनमा भारतीय नागरिकका लागि नेपालीहरु बुवा आमा बनेको बताएका छन् । भारतीय नागरिकलाई नागरिकता दिलाउन सबै व्यवस्था मिलाउने काम वडा अध्यक्ष आफैँले योजना बनाएर मिलाएको देखिन्छ ।
 

नागरिकता सिफारिस र अन्य तारतम्य मिलाउन अध्यक्ष अन्सारी र सचिव मण्डलले एक लाखभन्दा बढी भारतीय रुपैयाँ लिएको नाम नखुलाउने शर्तमा एक स्थानीय नागरिकले बताए । उनले भने, ‘वडा अध्यक्ष अन्सारीले नै जिल्ला प्रशासन कार्यालयका कर्मचारीलाई समेत अतिरिक्त रकम दिलाएर नागरिकता बनाइदिएका हुन् ।’ 
 

वडा अध्यक्ष अन्सारीले त्यसदिन कार्यालयमा भिडभाड भएकाले भुलचुकमा त्यस्तो हुन गएको बताए । उनले भने, ‘त्यसदिन कार्यालयमा अलि भिडभाड थियो, सचिवले मलाई कागज दिए, मैले पनि धेरै ख्याल नगरी सही गरेर पठाइदिएँ । भुलचुकका कारण हुन गएको हो ।’
 

सचिव मण्डलले भने नागरिकता सिफारिसमा अध्यक्षले लगाएको तोक आदेशको आधारमा कागजपत्र मिलाएको बताएका छन् । ‘मलाई यहाँ ‘कसको छोरो को हो ?’ भन्ने कसरी जानकारी हुन्छ । मेरो यसमा कुनै दोष छैन’, सचिव मण्डलले प्रतिक्रिया दिए । 
 

जिल्ला प्रशासन कार्यालय सिराहाबाट २०८० असार २६ गते मोस्ताकको नाममा जारी १५०१८०–४३६२ नम्बरको नागरिकता बनेको करिव दश दिन पछि नै स्थानीय नागरिकहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए । 

जिल्ला प्रशासन कार्यालयमा दिइएकाे निवेदन
कार्बाहीका लागि गृहमा दिएकाे निवेदन


 

उजुरीमा तत्कालीन प्रशासकीय अधिकृत भवेश झाले नजिकको प्रहरी कार्यालयमा पठाई सत्य तथ्य बुझी आवश्यक कार्बाही गर्ने भनेर तोक आदेश दिएका थिए । तर, आर्थिक प्रभाव र राजनितिक दवाबका कारण अहिलेसम्म दोषी उपर कुनै प्रकारको कानुनी कार्बाही अगाडि बढाइएको छैन् ।  
 

जिल्ला प्रहरी कार्यालयमा कार्बाहीका लागि गरिएकाे सिफारिश

स्थानीयले जिल्ला प्रशासन कार्यालय सिराहाबाट मोसताक मियाँ नामका भारतीय व्यक्तिलाई नेपाली नागरिकता प्रदान गरिएकोबारे जानकारी गराउँदा समेत जिल्ला प्रशासन कार्यालय सिराहाले हालसम्म कुनै चासो नदेखाउनुले पनि तलदेखि माथिसम्म सबै मिलेमतो रहेको पुष्टि भएको छ । 
 

यस विषयमा जिल्ला प्रशासन कार्यालय सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी तेजराज बरालसँग बुझ्दा उनले यो घटना आफ्नो नोटिसमा नरहेको बताए । उनले भने, ‘यो विषय मेरो नोटिसमा छैन, म बुझेर तपाइँलाई जानकारी गराउँला ।’
 


Facebook Comments