उत्तर कोरियासँग नेपालको लज्जास्पद हार, एसियन कप छनोटको यात्रा समाप्त

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/530217667_1068014188824399_4804065252146550156_n.jpg

काठमाडौं । भुटानमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले उत्तर कोरियासँग ११–० को फराकिलो अन्तरले हार बेहोरेको छ ।

आइतबार थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलमा बलियो टिम उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गरेको थियो ।

यस हारसँगै नेपालको एसियन कपमा छनोट हुने सम्भावना समाप्त भएको छ । नेपालले यसअघि भुटानसँग १–१ को बराबरी खेलेको थियो भने साउदी अरेबियालाई १–० ले पराजित गरेको थियो, जसबाट ४ अंक जोडेको थियो ।

यस समूहमा उत्तर कोरियाले सबै ३ खेल जितेर ९ अंकसहित समूह विजेता बन्दै अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू–२० महिला एसियन कपमा स्थान सुरक्षित गरेको छ ।

उत्तर कोरियाले छनोट चरणमा कुनै पनि गोल खाएको छैन । यस हारपछि उत्कृष्ट उपविजेताका रूपमा पनि नेपालको छनोट हुने सम्भावना सकिएको छ ।


Facebook Comments