संसद्मा एमाले सांसद थापा र राप्रपा सांसद कार्कीबीच चर्काचर्की


काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमालेका सांसद सूर्य थापा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीबीच भनाभन भएको छ ।
आकस्मिक समयमा बोल्दै सांसद कार्कीले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन कांग्रेस र एमालेले सांसदहरूलाई खाली कागजमा हस्ताक्षर गराएको भन्दै आपत्ति जनाइन् ।
उनले भनिन्, ‘सही गराउने कस्तो पार्टी? सही गर्ने कस्ता माननीयहरू? धिक्कार होस्।’
कार्कीको यो भनाइप्रति एमाले सांसद सूर्य थापाले आपत्ति जनाए । उनले यस्ता आरोपपूर्ण, लाञ्छनापूर्ण र अपमानपूर्ण अभिव्यक्तिलाई रेकर्डबाट हटाउन माग गरे ।
थापाले नियमापत्ति जनाइरहँदा कार्कीले ‘उहाँ (थापा) विपक्षी दलका सांसद बोल्दा सधैँ उठ्नुहुन्छ’ भन्दै व्यङ्ग्य गरिन् ।
यसपछि कार्कीले कांग्रेस र एमालेले देशमा दुई दलीय शासन लाद्न खोजेको आरोप लगाउँदै साना दलका सांसदहरूलाई सचेत रहन आग्रह गरिन् ।
उनले भनिन्, ‘अहिले नै सचेत हौँ, नभएदेखि उपेन्द्र यादव र अरू पार्टीका माथि जुन प्रकारका आक्रमण भइराखेका छन्, त्यो बाघले तपाईंहरूलाई पनि खान्छ।’
Facebook Comments