अटाेमाेबाइल क्षेत्रमा बढ्दै प्रतिस्पर्धा, ‘फ्लाइङ कार’ यस वर्ष नाडा अटो शोकाे आकर्षण


काठमाडौं । नेपालमा अटोमोबाइल क्षेत्रकै सबैभन्दा ठूलो उत्सव मानिने नाडा अटो शो २०२५ भदौं–३ (हिजो)देखि काठमाडौंको भृकुटीमण्डपमा भव्य रूपमा सुरु भएको छ। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले २०५५ सालदेखि सुरु गरेको यो प्रदर्शनी १७ औँ संस्करणमा आइपुग्दा उत्पादनकहरूबीच प्रतिस्पर्धा बढिरहेकाे छ ।
यस वर्ष नाडा अटो शाेको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्। कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललगायत राजनीतिक नेताहरूलाई सामेल गरेर व्यवसायीहरूले प्रचार बढाउने नयाँ शैली समेत अपनाएकाे देखिन्छ । नाडा अटो शाे उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ‘फ्लाइङ कार युग’सम्म आइपुग्नु देश आधुनिकतामा पुगेकाे टिप्पणी गरेका छन् । नाडा अटो शाेमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत सहभागी भएका छन् ।
यस वर्षको अटो शो ‘Go For More’ भन्ने थिमसहित भदौ ८ गतेसम्म सञ्चालन हुनेछ। याे शाे आयोजनाका लागि करिब ३ लाख वर्गफुट क्षेत्रफलमा फैलिएको प्रदर्शनीमा १ लाख ६२ हजार वर्गफुट प्रदर्शनी हल निर्माण गरिएको छ।
यसपटक १९ वटा चारपांग्रे ब्राण्ड, १३ व्यावसायिक गाडी, ४ दुईपांग्रे ब्राण्ड, साथै ३५ भन्दा बढी लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय सेवा प्रदायक कम्पनी सहभागी भएका छन्। यसरी १२५ भन्दा बढी प्रदर्शकका साथ सुरु भएको मेलामा करिब १ लाखभन्दा बढी दर्शक आउने अपेक्षा आयोजकले गरेका छन्।
फ्लाइङ कारदेखि रोबोटसम्म
शोको विशेष आकर्षणमा पहिलो पटक नेपालमा प्रदर्शन गरिएको Deepal eVTOL फ्लाइङ ट्याक्सी प्रमुख आकर्षण बनेको छ। बिजुलीबाट चल्ने यस ट्याक्सीले हेलिकप्टरझैं सीधै माथि उड्न र अवतरण गर्न सक्छ। तर नेपालमा कानुनी प्रावधान अभाव भएकाले यसको व्यावसायिक प्रयोग कहिले सुरु हुन्छ भन्ने स्पष्ट छैन।
त्यस्तै, UNITREE को G1 ह्युमानोइड रोबोट र G01 चारपांग्रे रोबोट, ऐतिहासिक गाडीहरूको प्रदर्शनी Vintage Motor Show, स्वदेशमै उत्पादन भएका सवारीसाधन र पुर्जासहितको Made in Nepal Pavilion, र अन्तर्राष्ट्रिय लगानी तथा साझेदारीका लागि तयार गरिएको International Business Pavilion पनि यसपटकको आकर्षणमा परेका छन्।
शोमा सहभागी कम्पनीहरूले आफ्ना नवीनतम मोडलहरू सार्वजनिक गरेका छन्।
टाटा माेटरले नयाँ सफारी, टियागो ईभी, नेक्सन ईभी, कर्भ ईभी सार्वजनिक गरेकाे छ । त्यस्तै फोटोनले टनल्यान्ड जी–७ पिकअप सार्वजनिक गरेकाे छ । डीपलले एस–०५ ईभी सार्वजनिक गरेकाे छ ।
बीवाईडीले एटो–२ ईभी सार्वजनिक गरेकाे छ । यी सवारी साधनमा विशेष छुट, आकर्षक वारेन्टी, निशुल्क चार्जिङ, इन्स्योरेन्सलगायत अफरसमेत उपलब्ध छन्।
उपभोक्तामैत्री सुविधा
उपभोक्ताका लागि टिकट दर सामान्यतया रु. २०० र विद्यार्थीका लागि रु. १५० तोकिएको छ। खल्ती एपमार्फत खरिद गर्दा २० प्रतिशत क्यासब्याकको सुविधा पाउने व्यवस्था मिलाइएकाे छ । प्रदर्शनी स्थलमा स्वास्थ्य सहायता, ट्राफिक सूचना डेस्क, सुरक्षा निगरानी, मिडिया सहयोग र अग्नी सुरक्षाकाे व्यवस्थासमेत गरिएको छ।
यस शाे मा हरेक दिन आयोजना हुने लक्की ड्रमा मार्फत १२ जना विजेताले एक वर्षका लागि निःशुल्क लुब्रिकेन्ट प्राप्त गर्ने आयोजकले जनाएका छन् । साथै सांगीतिक प्रस्तुति र इन्टरएक्टिभ कार्यक्रमहरूले मेलालाई थप उत्साहपूर्ण बनाएकाे छ।
Facebook Comments