जेनजी पुस्तासँग देउवा–ओली सरकारले खेल्यो ‘रगतको होली’
च्याँखे थाप्ने दाउमा ‘प्रचण्ड’


आफूलाई बहुआयामिक र सबै क्षेत्रको विज्ञ ठानेर जताततै मञ्चहरूमा उपदेशका भाषण बाँड्ने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भर्खर ३० वर्ष पनि नटेकेका भर्भराउँदा युवा र विद्यार्थीहरूसँग आज ‘रगतकै होली’ खेलेको प्रदर्शनस्थलमा भएका घटना हेर्दा स्पष्ट हुन्छ । सिभिल अस्पतालभित्रै पसेर प्रहरीले विद्यार्थीहरू कुट्नेदेखि अश्रुग्यास प्रहार गर्नेसम्मका काम गर्यो । नयाँ बानेश्वरमा ताकी ताकी टाउँकामा गोली हान्यो । क्यामेरा बोकेर प्रहरी र प्रदर्शनकारीको गतिविधि कैद गरिरहेका पत्रकारहरूमाथि पनि प्रहरीले ताकेरै गोली हान्यो । झडपमा विवेक पूरा लगाउन सम्भव नहुनसक्छ तर झडप हुनसक्ने आंकलन गरेर यसलाई व्यवस्थित बनाउन सरकारले सक्नुपर्छ । कलिला युवाहरूलाई दपेटी दपेटी प्रहरीले लाठ्ठी चार्ज गर्यो । हो, जेनजी समूह पार्टीको जस्तो, कुनै संस्था र संगठनजस्तो संगठित थिएन । जोशपूर्ण यो पुस्ता अहिले पढाई र क्यारियरमा व्यस्त हुनुपर्नेमा सरकारका गतिविधिले सडकमा ल्याएको थियो । सुरूमा प्रहरीमाथि यो पुस्ताको आन्दोलनमा आएका केहीले संसद भवन छिर्न ढुंगामुढा बर्साए । तर त्यो भवनसम्म आउने वातावरण यही सरकारले बनाएको थियो । सरकारी पक्षले जेनजीको यो आन्दोलनमा पानीको फोहोरा, अश्रु ग्यासमात्र होइन अत्याधिक मात्रामा गोली चलायो । गोली काठमाडौंमा मात्रै होइन, इटहरी, झापामा पनि बर्सायो । अरू ठाउँमा पनि बर्साउँदै गएको छ ।
भर्भराउँदा युवाहरूको इच्छा र चाहनाविपरीत सरकारले २६ सामाजिक सञ्जाल नेपालमा मन्त्रालयले बनाएको नियमावलीका आधारमा नचल्ने बनाएपछि असन्तुष्ट बनेका जेनजी पुस्ताले आज देशभर प्रदर्शन गरेका थिए । अधिकांश जेनजी पुस्ता रोजगारीको लागि बिदेशी भूमीमा जान बाध्य रहेका बेला नेपालमा भएको जेनजी पुस्ताको चाहनाविपरीत समाजिक सञ्जाल बन्द गरेपछि यो पुस्ता ओली सरकारसँग अझ रुष्ट भएको देखिन्छ ।
प्रदर्शनको मुख्य एजेण्डामा ‘नेपोबेबीज’ मुख्य विषय थियो । एक लाख पनि मासिक पारिश्रमिक नहुने राजनीतिक दलका नेताका बिलासी जीवनको स्रोत खोजी गर्दै भ्रष्टाचारविरूद्ध सामाजिक सञ्जालबाटै आवाज उठाएर आज सडक आन्दोलन थालेका जेनजी पुस्ताले संसद भवन कब्जामै लिन खोजेको देखिन्छ । ओली सरकारले उनीहरूले आन्दोलनको चेतावनी दिँदा पनि संवाद र छलफल गरेर उनीहरूका माग पूरा गर्नुको सट्टा ललितपुरको गोदावरीमा भएको एमाले महाधिवेशनमै भड्काउने अभिव्यक्ति दिएर जेनजी समूहलाई अझ उत्तेजित पारेको देखिन्छ । ललितपुरको गोदावरीमा भएको एमालेको महाधिवेशनमा गएका कोसी प्रदेशका आर्थिक मामिला मन्त्री रामबहादुर मगर चढेको गाडीले जेब्रा क्रसमा बाटो काट्दै गरेकी एक बालिकालाई हरिसिद्धीमा ठक्कर दिएर गैरजिम्मेवार तरिकाले हिँडेपछि पनि ओलीले केही नभएको भन्दै मन्त्रीको बचाउ गरेका थिए । मन्त्री जस्तो व्यक्तिले पनि यस्ता संवेदनशील बिषयमा नागरिकको ख्याल नै नगरेको देखेपछि जेनजी समूहले नेताहरूले ‘जनता मरे पनि वास्ता नगर्ने रहेछन्’ भन्ने बुझे । यो घटनाले पनि आन्दोलनको उद्घोष गरिसकेका जेनजी पुस्तालाई झन बिच्क्यायो ।
आम्दानीको स्रोतका लागि इन्टरनेटमा भर पर्ने यो पुस्तालाई नसोधी ओली सरकारले सामाजिक सञ्जाल बन्द गरेर जेनजी पुस्ताको काममा पनि असर पुर्यायो । अझ २६ वटा सामाजिक सञ्जाल बन्द गर्नुपूर्व संसदमा भएका सबै राजनीतिक दल र सरोकारवालासँग छलफल नै गरेन । सामाजिक सञ्जालमै नरूचाइएको यो सरकारले आफूहरूविरुद्ध आक्रमण भएको ठानेर सामाजिक सञ्जालमा भएका कन्टेन्ट नियमनको नाममा नियन्त्रणमा लिन खोजेको यो पुस्ताले अनुभव गर्यो ।
सरकार जनताको चाहनाअनुसार चल्नुपर्छ । कुनै काम गर्दा जनतालाई त्यसले कति फाइदा र कति बेफाइदा गर्छ भन्ने हिसाबकिताब सरकारले राख्न सक्नुपर्छ । सामाजिक सञ्जाल दर्ताको निर्णय प्रक्रियामा सबैको सहभागिताविना ओली सरकारले आफ्नो मात्रै ‘हठ’का आधारामा निर्णयहरू कार्यान्वयनमा लग्यो । अरू त अरू संसदमा विचाराधिन यो विषयमा सरकारले संसदमा आवद्ध राजनीतिक दलका नेताहरूसँग समेत छलफल गरेन ।
अझ अहिले चलिरहेका डिजिटल टुल्सहरू, फेसबुक, इन्टा, युट्युवलगायत विश्वबजारमा सञ्चालनमा रहेका सामाजिक सञ्जालका मालिकहरूसँग आर्थिक कूटनीतिकको माध्यमबाट दर्ता तथा कर प्रणालीमा नेपालमा सञ्चालन हुने व्यवस्था मिलाउनुको सट्टा ओली सरकारले आफ्नो इगो र दम्भको आधारमा ‘देखाइदिन्छु’ भन्ने नीति लियो । धेरै जेनजीहरूले आम्दानीको रूपमा प्रयोग गर्ने यी टुल्सहरू बन्द हुँदा ब्यहोर्नुपर्ने क्षतिबारे ओली सरकारले फर्केर हेर्ने चेष्टा नै गरेन । रोजीरोटीका लागि विदेशमा रहेका अहिलेका जेनजी समूहका बुबा आमासँग संवाद गर्ने मुख्य सामाजिक सञ्जाल बन्द भएपछि सरकारमा रहेका पार्टी र तिनका नेताहरूका काम र जीवनशैलीबारे नियालेर हेर्दा अभाव, बेरोजगारीमा रुमल्लिएको यो पुस्ता अझ ‘फ्रस्टेड’ हुने नै भयो । यो विषय बुझन नसकेको ओली सरकार अझ फेल हुँदै गयो ।
अहिलेको जेनजी पुस्ताको अभिभावक छोराछोरी पढाउन र गास, बास टिकाउन वैदेशिक रोजगारीमा निर्भर भइरहेको तथ्य ओली सरकारले बुझेकै हुनुपर्ने हो । आफ्नो देशमा रोजगारी सिर्जना गर्न नसक्ने यो सरकार र यसअघि सत्तामा लिप्त हुने राजनीतिक दलहरूले अहिलेका जेनजी पुस्ताका अभिभावकले विदेशबाट पठाएको रेमिट्यान्सलाई सदुपयोग गरेर देशमा रोजगारी सिर्जना गर्नुको सट्टा स्वार्थपूर्ण योजनाहरू बनाएर नीतिगत भ्रष्टाचार गर्दै बिलासी जीवन जिइरहे । संसदमा भएका अहिलेका राजनीतिक दल र तिनका नेताले अहिलेको जेनजी पुस्तालाई सम्बोधन गर्ने खालका योजनाहरू ल्याउनै सकेनन् ।
सामान्य परिवारको गास, बासमा महंगीले सताइरहँदा नेताहरू र उनीहरूका छोराछोरी तथा आफन्त अवसरहरूमा पहिलो स्थानमा सधैँ रहे । देशमा मात्रै होइन विदेश डुल्न यी नेता र नेताका सन्तानले पाइरहे । तल्लो तहको जीवनस्तर सुधार्ने खालका योजना ल्याउन संघदेखि प्रदेश र स्थानीय सरकारहरू असफल भए । संघमा मात्र होइन, प्रदेश र स्थानीय तहहरूमा पनि यिनै नेताका कार्यकर्ताले हालिमुहाली गरिरहे । नागरिकलाई सामान्य रासायनिक मल समेत किनेर लिने वातावरण बनाइदिन यिनीहरूले सकेनन् । त्यही भएर आज झापा, इटहरीलगायत देशका विभिन्न स्थानहरूमा जेनजी समूहले स्थानीय पालिकाहरूमा समेत आगजनी र तोडफोड गरे ।
सामान्य प्रशासनिक काम पूरा गर्न नागरिकहरूलाई तनाव दिने तथा घुस माग्ने प्रणाली सुधार हुनुको सट्टा बढ्दै गयो । कुनै व्यापार, व्यवसाय तथा जागिर नभएका नेताहरूका अलिसान महल काठमाडौंमै ठडिँदा कर तिरेर नेता र कर्मचारी पाल्ने जनताको जीवनस्तर झनझन् बिकराल हुँदै गयो । यही कारण नेपालको जेनजी ‘फ्रस्टेड’ हुँदै गयो । यो ‘फ्रस्टेसन’ सामाजिक सञ्जालबाट पोखिरहेको यो पुस्तालाई लक्षित गर्दै ओली सरकारले सामाजिक सञ्जालका कन्टेन्टमै नियन्त्रण गर्ने गरी सामाजिक सञ्जाल नेपालमा दर्ता हुने गरी मन्त्रालयबाट हतार हतारमा नियमावली बनायो । यो नियमावली बनाउनुपूर्व पनि सामान्य आलोचना गरेकै भरमा नागरिकहरूलाई पक्राउ गरेर साइबर क्राइमका मुद्दा चलाउँदै गयो । संसदमा छलफलमै भएको सामाजिक सञ्जाल सञ्चालन र नियमनको विषय संसदबाटै टुंग्याउनुको सट्टा ओली सरकारले जेनजी पुस्ताको आलोचना सहन नसकेर संसदको छलफल वास्तै नगरी सबैभन्दा धेरै सञ्चालनमा रहेका सामाजिक सञ्जाल चाँडो नियन्त्रणमा लिने प्रयास गर्यो । जसले आज अप्रिय घटना घटायो ।
युवा हुँदा आन्दोलन त प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, सञ्चार तथा सूचनामन्त्री पृथ्वीसुब्बा गुरूङले पनि गरेकै हुन् । तत्कालीन समयमा तत्कालीन सरकारले उनीहरूका माग सम्बोधन नगरेको भन्दै उहिल्यै (अहिलेका जीनजी उमेर समूहमै) गरेका यिनीहरूका आन्दोलन जाहेज हुने र अहिलेको जेनजी समूहले गरेको आन्दोलन नाजायज हुने भन्ने हुँदैन । अहिलेका ओली उमेर समूहका व्यक्तिहरूको चाहनाका आधारमा यो देशको बजेट र नीति नियम तथा कार्यक्रम बन्ने तर जेनजी समूहको नेतृत्वका लागि नीति तथा योजना बन्ने बाटो बन्द हुने अवस्था आउनु हुँदैनथ्यो । जेनजीलाई चाहिने नीति तथा योजना जेनजी समूहलाई नै बनाउन दिने गरी एमाले, माओवादी तथा कांग्रेसले पार्टीमा छिरेर बस्ने बाटो खोलिदिएको भए पनि यस्तो ‘फ्रस्टेसन’ पक्कै आउँदैन थियो । जति नै पटक निर्वाचन भए पनि केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल नै निर्वाचन लड्नुपर्ने, यिनिहरूको सिफारिसमा मात्रै चुनाव लड्न पाउने, सरकार बनाउनु पर्दा यिनिहरू नै प्रधानमन्त्री बन्नुपर्ने तर देशमा तल्लो तहमा रहेका नागरिकको जीवनस्तरमा कुनै परिवर्तन आउन नसक्ने अवस्थाले जेनजी उमेर समूहलाई पीडा दिनु स्वभाविक छ । विश्वको विकास, राजनीति, अर्थव्यवस्था र प्रशासन इन्टरनेटबाटै बुझेको यो पुस्तालाई राजनीतिमा पनि ठाउँ नदिने, रोजगारीको पनि व्यवस्था गर्न नसक्ने ओली–देउवा र प्रचण्ड समूहको सरकारलाई कुरिरहने सीमा पनि जेनजी पुस्ताले नाघिसकेपछि सडक रोज्नु कुनै अनोठो पनि होइन ।
पार्टीबाट छिर्नै नसक्ने सिण्डिकेट राख्नुले पनि यो उमेर समूहलाई नीति नियम र योजनाहरूले समेटेको छैन । जेनजी समूह नीति बनाउने ठाउँमा पुग्ने बाटो नै बन्द हुने गरी दलहरूमा सिण्डिकेट गराउने तर अवाकासको जीवन जीउने उमेरमा पनि पद नछोड्ने प्रवृतिले पनि जेनजीमा पीडा थपेको छ । नेता र तिनका छोराछोरी तथा आफन्तलाई सरकार र प्रशासनका काममा सहजिकरण हुने तर आम नागरिकलाई पीडा हुने अवस्थाले पनि जेनजी ‘फ्रस्टेड’ छ । तर यो बुझ्न तयार नभएको ओली, देउवा र प्रचण्ड समूह अझै जेनजीलाई राजनीतिक लाभका आधारमा गक्षअनुसार बहकाउने र दमन गर्ने नीतिमा छ ।
सत्तामा रहेका ओली र शेरबहादुर समूहले बिना लगानी स्वस्फूर्त रुपमा पहिलो पटक सडकमा राजनीतिक चासो दिएर आएको यो जेनजी समूहलाई आज दमन गरेर रगतको होली खेलेको छ । यो विशेष सम्पादकीय तयार पार्दासम्म आज देशभरको आन्दोलनमा निर्दोश १९ जना कलिला युवाहरूको ज्यान गएको छ । सयौं कलिला युवाहरू र विद्यार्थीहरू अस्पतालमा छटपटाइरहेका छन् । देशभर जेनजी समूह आन्दोलनमा होमिएको छ । धेरै प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ । गृहमन्त्री रमेश लेखक राजीनामा दिएर पन्छिन तयार देखिन्छन् । ओली पनि केही बाहाना देखाएर यो घटनाबाट पछि हट्न खोज्लान् । तर जेनजीसँग आज सत्ताले खेलेको होलीले यी राजनीतिक दलका नेताहरूसँग हिसाबकिताब पक्कै माग्नेछ । सायद हिसाबकिताबको मूल्य शेरबहादुर र ओली समूहले तिर्न सम्भव हुनेछैन ।
यही आन्दोलनलाई देखाएर ‘सेन्टिमेन्ट’ लिन खोजिरहेका माओवादी अध्यक्ष प्रचण्ड समूहलाई पनि जेनजी पुस्ताले राम्रो भने मान्ने छैन । माओवादी आन्दोलनको रापबाट बिश्राम लिँदै शान्ति प्रकृयामा आएर नेपाली नागरिकलाई १० वर्षमा नेपाललाई सिंगापुर बनाइदिने आश्वासन बाँडेका प्रचण्डको अहिलेको बिलासी जीवन र यिनका छोराछोरी तथा नाति–नातिनीको जीवनशैलीमा आएको परिवर्तनको हिसाबकिताब जेनजी पुस्ताले मागिरहेको प्रचण्डले बुझिरहेकै हुनुपर्छ ।
जेनजीकाे प्रदर्शनकाे तस्बिरहरू तलकाे कन्टेन्टमा हेर्नुहाेला !
Facebook Comments