यात्रुबाट मनपरी भाडा असुली, कारबाहीबाट जोगिन टिकट दिन अस्वीकार

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68db8749e1cf4.jpg

खोटाङ । चाडपर्वको मौका छोपेर खोटाङमा सञ्चालित यातायात व्यवसायीहरूले यात्रुहरूबाट मनपरी भाडा असुली गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयसँगको भाडा समायोजन बैठकमा साबिककै भाडादर लागू गर्ने सहमति गरे पनि व्यवसायीहरूले यात्रुबाट प्रतिव्यक्ति रु ५०० देखि रु एक हजार ५०० सम्म बढी भाडा असुलेको पाइएको छ ।

दिक्तेल–काठमाडौंका लागि रु दुई हजार भाडा निर्धारण भए पनि यातायात व्यवसायीहरूले रु दुई हजार ५०० देखि रु तीन हजार ५०० सम्म असुलेका छन् । दिक्तेल–धरानका लागि रु दुई हजार १०० निर्धारण गरिए पनि यसको कार्यान्वयन भएको छैन ।

यातायात व्यवसायीहरूले बढी भाडा असुल गरेपछि कारबाहीमा पर्ने डरले यात्रुलाई टिकट नदिई यात्रा गराएको यात्रुहरूको भनाइ छ । यात्रुहरूले ’रिजर्भ’ भाडा असुल गरिएको गुनासो गरेका छन् ।

सगरमाथा यातायात प्रालिले धरानबाट खार्मीका लागि भनेर प्रतिव्यक्ति रु दुई हजार ५०० भाडा लिएर दिक्तेलमा ल्याएर छाडेको यात्रुहरूले बताएका छन् । 

स्थानीय ज्ञानकुमारी राईले दिक्तेलबाट पुनः रु ७०० तिरेर अर्को गाडीमा घर पुग्नुपरेको बताए । उनले प्रहरीलाई खबर गर्ने समय नभएको र सम्बन्धित निकाय मौन बस्दा यात्रुहरू मारमा परेको दुखेसो पोखे ।

यातायात व्यवसायीले मनपरी भाडा असुलेको गुनासो आउँदा पनि जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख बाबुराम न्यौपानेले भने अहिलेसम्म कुनै गुनासो नआएको प्रतिक्रिया दिए । उनले प्रमाण उपलब्ध गराए कारबाही गर्ने आश्वासन दिए ।

जिल्ला प्रशासन कार्यालयले बढी भाडा लिने, अतिरिक्त शुल्क असुल्ने र क्षमताभन्दा बढी यात्रु चढाउनेलाई कानुनी कारबाही गर्ने निर्णय गरे पनि हालसम्म कार्यान्वयनमा आएको छैन ।


Facebook Comments