माओवादी र नेकपा एसबीच पार्टी एकता लगभग निश्चित

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68fb1f3a8a098.jpg

काठमाडौं । कम्युनिस्ट पार्टीहरूबीच एकताको प्रयास तीव्र भइरहेका बेला माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकीकरण हुने लगभग निश्चित भएको छ । वार्तामा संलग्न नेताहरूका अनुसार, यो एकतामा नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपालाई समेत समेट्ने प्रयास जारी छ ।

पार्टी एकीकरणमा सिद्धान्त र नीतिमा सहमति जुटिसकेपछि, नेतृत्वको मोडालिटी टुङ्गो लगाउने जिम्मा माओवादी संयोजक प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई दिइएको छ । एउटा मोडालिटीमा प्रचण्ड संयोजक र नेपाल सहसंयोजक बन्ने प्रस्ताव छ ।

पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेनिनवाद रहनेछ भने कार्यनीति तथा कार्यक्रम नेपाली विशेषतासहितको समाजवाद रहनेछ । माओवादी केन्द्रले माओवाद र नेकपा एसले जनताको बहुदलीय जनवाद (जबज) छोड्ने सहमति भएको छ ।

एकीकरणपछि बन्ने पार्टीको नामको पछाडि ‘समाजवादी’ राखिने जनाइएको छ । नेपाल कम्युनिस्ट पार्टी समाजवादी वा नेपाली कम्युनिस्ट पार्टी समाजवादी नाम रहने सम्भावना छ ।

चुनाव चिह्नबारे सहमति हुन बाँकी रहे पनि ठूलो विमति नहुने नेताहरूको भनाइ छ । एकीकृत समाजवादीमा झलनाथ खनाल र घनश्याम भुसालको व्यवस्थापन भएपछि एकताको माहोल बनेको वार्ता टोलीले जनाएको छ । निर्वाचन आयोगले दल दर्ताका लागि दिएको समयअघि नै एकता घोषणा गर्ने तयारी छ ।


Facebook Comments