लगातारको वर्षाले तीनपाटनमा सयौं किसानको धानबाली नष्ट
कसले दिन्छ क्षतिपूर्ति?
मेयरसाप डेस्क
|
८ घण्टा अगाडि
काठमाडौं । लगातार तीन दिनदेखि परेको बेमौसमी वर्षाका कारण सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिका–१ मा सयौं किसानको धानबालीमा क्षति पुगेको छ ।
वर्षाले गर्दा खेतमा काटेर सुकाउन राखिएको धान खेतमै भिजेर कुहिन थालेको छ । मुख्य धानबालीमा पूर्ण रूपमा क्षति भएपछि किसानहरू चिन्तित बनेका छन् । वर्षा सुरु हुनुअघि नै अधिकांश किसानले धान काटेर खेतमा सुकाउन राखेका थिए । तर, बिहीबारदेखि निरन्तर परेको वर्षाले धान पूरै नष्ट भएको छ ।
बाली भित्र्याउने समयमा भएको बेमौसमी वर्षाका कारण किसानहरू ठूलो मर्कामा परेका छन् । तीनपाटन गाउँपालिका–१ का वडाध्यक्ष गोविन्दबहादुर राउतका अनुसार, वडाभरि काटेर राखिएको धान पूरै पानीमा भिजेको छ र खेतमै उम्रिन थालेको छ ।
राउतले भने, ‘सरकारबाट मौसमसम्बन्धी सूचना त आएको थियो, तर किसानले धान काटिसकेपछि अचानक वर्षा हुँदा सयौं किसानको धान बालीमा क्षति पुगेको छ । वर्षा आज बिहान ४ बजेबाट मात्र रोकिएको छ । अहिले फेरि पानी पर्नेजस्तो मौसम देखिएको छ ।’
वडाध्यक्ष राउतले यो क्षतिका विषयमा आगामी मंगलबार बस्ने कार्यपालिका बैठकमा छलफल गर्ने जानकारी दिए । ‘यति धेरै क्षति भएको छ । धानबाली क्षति भएका किसानलाई क्षतिपूर्तिका लागि सोही दिन छलफल गर्नेछौं । छलफलको एजेन्डा औपचारिक रूपमा नआए पनि किसानको व्यहाेरेकाे क्षतिका विषयमा कुरा उठाउने तयारीमा छौं ।’

Facebook Comments