गढवाका पूर्व प्रमुख प्रशासकीय अधिकृतसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
राजस्व हिनामिना गरेको अभियोग
मेयरसाप डेस्क
|
१४ घण्टा अगाडि
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकाका दुई जना कर्मचारीविरुद्ध राजस्व हिनामिना गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अनुमतिभन्दा बढी ढुङ्गा, बालुवा उत्खनन् गरी राजस्व हिनामिना गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी र बज्रगुरु कन्स्ट्रक्सन कम्पनीका प्रबन्ध निर्देशक लक्ष्मणकुमार रानाविरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगले उनीहरूविरुद्ध ९५ लाख ९८ हजार रुपैयाँ (करिब १ करोड) बिगो मागदाबी गरेको छ । बज्रगुरु कन्स्ट्रक्सनले ठेक्का सम्झौताभन्दा बढी नदीजन्य पदार्थ उत्खनन् गरेको थियो ।
कम्पनीले राजस्व दाखिला नगरेको अवस्थामा प्रमुख प्रशासकीय अधिकृत योगीले गाउँ कार्यपालिकाको निर्णय विपरीत गएर उक्त राजस्व बराबरको बैंक ग्यारेन्टी फुकुवा गर्न पत्राचार गरेको पाइएको छ ।
अख्तियारले यी दुई जनाले मिलेमतो गरी गाउँपालिकाको राजस्व रकम हिनामिना गरेको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजाय माग गरेको छ ।
Facebook Comments