लागुपदार्थ सेवन गरी सवारी चलाउने छ जना प्रहरीको नियन्त्रणमा
मेयरसाप डेस्क
|
एक घण्टा अगाडि
काठमाडौं । ट्राफिक प्रहरीले लागुपदार्थ सेवन गरी काठमाडौं उपत्यकामा सवारी चलाउने छ जनालाई नियन्त्रणमा लिएर आज सार्वजनिक गरेको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार काठमाडौँको सुकेधारामा ट्राफिक प्रहरीले सञ्चालन गरेको नियमित जाँचका क्रममा लागुपदार्थ सेवन गरी सवारी चलाउने छ जना चालकलाई नियन्त्रणमा लिइएको छ। उपत्यकाभरिमा ट्राफिक प्रहरीले नियमित चेकजाँच गर्दै आएको छ।
नियन्त्रणमा लिइएकाहरूमा पठाओ मोटरसाइकल चालक झापाको अर्जुनधारा नगरपालिका–६ का ३९ वर्षीय शेखरनाथ घिमिरे, बाराको पचरौता नगरपालिका–६ का ३३ वर्षीय साजिद अन्सारी, नुवाकोटको बेलकोटगढी नगरपालिकाका २२ वर्षीय सुमन परियार, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ का ४७ वर्षीय सुरजकुमार बजगाईँ, भाडाबस चालक मकवानपुरको थाहा नगरपालिका–४ का ३२ वर्षीय कपिल थापा र बोलेरो जिप चालक सल्यानका २२ वर्षीय भीमबहादुर खड्का रहेको प्रवक्ता सुवेदीले बताए।
नियन्त्रणमा लिएकाहरूलाई थप अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरी मादक पदार्थ र लागुपदार्थलगायतका जाँचमा सँधै सक्रिय रूपमा खटिएको र नसालु पदार्थ सेवन गरी सवारी नचलाउन आग्रह गरिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिए।
Facebook Comments