त्रिभुवन विश्वविद्यालयमा चितुवाको आतंकः छात्राबास भित्रै पसेर सुरक्षागार्डमाथि आक्रमण (भिडियोसहित)

के गर्दैछ प्रशासन ?

User Image अम्बिका खड्का | २०८२ कार्तिक २७ गते १३:४७
Image of https://mayorsap.com/storage/photos/shares/thumbnail.jpg
तस्बिर : राहुल कुमार ढकाल

काठमाडाै‌ । त्रिभुवन विश्वविद्यालय परिसरमा चितुवाको आतंक बढेसँगै विद्यार्थीमा त्रास पनि बढेको छ । चितुवाले त्रिवि परिसरमा गाई, कुकुर लगायतका घरपालुवा जनावरकासाथै पछिल्लो समय छात्रावासका सुरक्षागार्डलाई समेत आक्रमण गरेपछि विद्यार्थीमा त्रास बढेको हो । 

विद्यार्थी, कर्मचारी र शिक्षकहरुलाई समेत बिहान क्याम्पस जान र साँझ क्याम्पसबाट फर्किन पनि डर हुने गरेको छ । 

बिहान साँझ पठाओ चालक समेत त्रिवि परिसरमा चितुवाकै डरले आउन नमानेपछि विद्यार्थी झन समस्यामा पर्ने गरेका छन् । त्रिविको लाइब्रेरी राति १० बजेसम्म खुला हुन्छ । तर सुरक्षित फर्किने वातावरण नहुँदा सबै विद्यार्थीले लाइब्रेरी प्रयोग गर्न सकिरहेका छैनन् । दैनिक क्याम्पस आवतजावत गर्ने विद्यार्थीलाई त समस्या छ नै त्रिवि परिसरमै होस्टलमा बस्ने विद्यार्थीका लागि यो समस्या झन जटिल बन्दै गएको छ ।

गत असोज २७ गते त्रिविका ईश्वरी छात्राबासका सुरक्षा गार्ड कर्णबहादुर तामाङलाई चितुवाले छात्राबासभित्रै आक्रमण गरेपछि भने छात्राबासका विद्यार्थी झन त्रसित बनेका छन् । 

ईश्वरी छात्राबासको क र ख ब्लक वरिपरि झाडी छ । पर्खाल समेत निकै होचो छ । जसका कारण जनावर मात्र नभएर मानिस समेत सजिलै पर्खाल नाघेर छात्राबास भित्र पस्न सक्छन् । छात्राबासमा असुरक्षित महशुस भएकै कारण कतिपय विद्यार्थीहरुले छात्राबास छोडेर समेत गइसकेका छन् । 

चितुवाकै डरका कारण साँझको कक्षा छोडेर बेलैमा छात्राबास छिर्नुपर्ने, साँझ लाइब्रेरी जान नसक्ने, छात्राबास परिसर भित्रै पनि एक्लै निस्किन नसक्ने अवस्था रहेको विद्यार्थीहरु बताउँछन् । 

छात्राबासमा चितुवा र मानिसबाट पनि असुरक्षित महशुस भएको भन्दै विद्यार्थीहरुले पटक पटक प्रशासनको ध्यानाकर्षण गराएका छन् । पर्खाल सानो भएकाले काँडेतार लगाउन र छात्राबास भित्र फोर्स लाइटको व्यवस्था गरिदिन अनुरोध गर्दा समेत प्रशासनबाट बजेट नभएको भन्दै गैरजिम्मेवारीपूर्ण जवाफ दिएको छात्राबासका विद्यार्थीको आरोप छ ।

त्रिवि परिसरमा चितुवाको आतंक रहेको स्वीकार गर्दै यस सम्बन्धमा आफूहरुले प्रशासनको ध्यानाकर्षण गराइरहेको त्रिविका स्ववियु सभापति दिपक राज जोशीले बताए । चितुवाको आतंक कम गर्नका लागि स्ववियुको तर्फबाट तत्कालका लागि वन विभागसँग समन्वय गर्न, छात्राबासको पर्खालको उचाइ बढाएर तारजाली लगाउन, झाडी सफा गर्न प्रशासनसँग पहलकदमी गरिरहेको तर प्रशासनबाट खास्सै चासो नदिएको जोशीको आरोप छ । 

त्रिविका प्राचार्य अक्कलदेव मिश्रले भने अहिले डराउनुपर्ने अवस्था नरहेको दाबी गरेका छन् । उनले त्रिवि परिसरमा सडकबत्ती जडान गरेको, सिसिटिभि राखिएको र छात्राबास वरपरका झाडी समेत फाँडेका कारण अब ९५ प्रतिशत समस्या नभएको दाबी गरेका हुन् । उनले त्रिवि जंगल क्षेत्रमै रहेकाले कहिलेकाँही जंगली जनावर देखिनु सामान्य भएको भन्दै चितुवाको आतंकलाई सामान्यीकरण गर्न खोजेका छन् । 

देशभरका सातै प्रदेशबाट उच्च शिक्षा हाँसिल गर्न आउने त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीहरु असुरक्षित वातावरणमा बस्न बाध्य छन् । छात्राबासमा बस्ने विद्यार्थीहरुलाई कहिले जंगली जनावरको डर त कहिले मानिस नै छात्राबासभित्र छिर्ने डरले सताइरहन्छ । साँझ परेपछि छात्राबासमा अध्ययनको भन्दा बढी त्रासको वातावरण बन्ने गरेको छ । छात्राबासभित्रै चितुवा पसेर सुरक्षागार्डलाई आक्रमण गर्दा समेत प्रशासनबाट कुनै सुरक्षाका लागि तत्कालिन पहल समेत गरिएको देखिँदैन । केही दिनभित्र एनपिएल सुरु हुँदैछ । क्रिकेट ग्राउण्ड नजिकै रहेको छात्राबासमा एक महिनासम्म चल्ने एनपिएल कारण अध्ययनमा समस्या हुन्छ नै मानिसहरुको चहलपहल बढ्दा छात्राबासका विद्यार्थीको सुरक्षामा समेत उतिकै चुनौती थपिएको छ । त्रिवि प्रशासनले आफ्ना विद्यार्थीमाथि कुनै पनि दुर्घटना हुनुअघि छात्राबासका विद्यार्थीको सुरक्षाका लागि तत्काल कदम चाल्नुपर्ने आवश्यकता देखिन्छ ।

भिडियो:


Facebook Comments