मेक्सिकोमा चर्कियो जेन-जी आन्दोलन : हजारौं युवा सडकमा
मेयरसाप डेस्क
|
२ घण्टा अगाडि
एजेन्सी । मेक्सिकोमा जेन–जी पुस्ताले आह्वान गरेको विशाल प्रदर्शनका कारण राजधानी मेक्सिको सिटीमा शनिबार तीव्र तनाव उत्पन्न भएको छ । हजारौं युवाहरूले देशभरि बढ्दो हिंसा र अपराध नियन्त्रण गर्न सरकारले चासो नदिएको भन्दै विरोध गरेका हुन् ।
नोभेम्बर १ मा मेयर कार्लोस म्यान्जोको सार्वजनिक हत्या भएपछि युवाहरू आक्रोशित बनेका थिए । उनीहरूले सामाजिक सञ्जाल ’बोट’ मार्फत अभियान चलाएर प्रदर्शनको आह्वान गरेका थिए ।
प्रदर्शनकारीहरू राष्ट्रपति क्लाउडिया सेइनबाउमको निवासमा पस्न खोजेपछि माहोल तनावपूर्ण बनेको थियो । राष्ट्रपति भवन वरिपरिका बार भत्काउन खोज्दा प्रहरीले हस्तक्षेप गर्यो, जसपछि झडप भएको रोयटर्सले जनाएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौं अश्रु ग्यास प्रहार गरेको थियो ।
सार्वजनिक सुरक्षामन्त्री पाब्लो भास्केजले झडपमा १०० जना प्रहरी घाइते भएको र तीमध्ये ४० जना अस्पतालमा उपचाररत रहेको जानकारी दिए । झडपमा २० जना सर्वसाधारण घाइते भएका छन्, भने सुरक्षा अधिकारीहरूले २० जना प्रदर्शनकारीलाई पक्राउ गरेका छन् ।
‘जेनेरेसन जेड मेक्सिको’ले आफूहरू कुनै राजनीतिक दलसँग सम्बन्धित नभएको दाबी गरे पनि सरकारले भने यो प्रदर्शन दक्षिणपन्थी विपक्षी दलहरूको उक्साहटमा भएको आरोप लगाएको छ ।
Facebook Comments