आयोगद्वारा नयाँ दल दर्ताका लागि एक हप्ता समय थप

मंसिर ६ गतेसम्म निवेदन दिन सकिने

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक ३० गते १९:४८
Image of https://mayorsap.com/storage/photos/shares/nirwachan-aayog.jpg

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि नयाँ राजनीतिक दल दर्ताको समय सीमा थप गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, नयाँ दल दर्ताका लागि निवेदन दिने समयावधि कात्तिक ३० बाट बढाएर मंसिर ६ गतेसम्म कायम गरिएको छ ।

पहिले आयोगले नयाँ दल दर्ता गरेर प्रमाणपत्र लिने समय कात्तिक ३० गतेसम्म तोकेको थियो  निर्वाचन प्रयोजनका लागि भने मंसिर १ देखि ७ गतेसम्म दल दर्ता गराउनुपर्ने समय सीमा कायम छ ।

प्रवक्ता भट्टराईले मंसिर ६ गतेसम्म प्रक्रिया पुर्‍याएर आएका नयाँ दलका निवेदन लिने र ती दलले पनि चुनावका लागि पुनः मंसिर ७ गतेभित्र दर्ता गर्नुपर्ने स्पष्ट पारे ।

आयोगले आइतबारसम्म मुलुकमा १२२ वटा राजनीतिक दल कायम रहेको जनाएको छ । सरकारले चुनाव घोषणा गरेपछि ७ वटा नयाँ दल दर्ता भएका छन् भने ७ वटा पहिले कायम दल खारेज भएका छन् ।

हाल थप २८ वटा दल दर्ता प्रक्रियामा छन्, जसको सनाखत र कागजात रुजुको काम भइरहेको छ ।


Facebook Comments