निर्वाचनबाट नभागौं, संसद् पुन:स्थापनाको अडान नलिऔं : प्रधानमन्त्री कार्की

शान्तिपूर्ण चुनाव सरकारको प्राथमिकता

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ३ गते ००:१९
Image of https://mayorsap.com/storage/photos/shares/pm-party-meeting.jpg

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले घोषित निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउनु सरकारको उच्च प्राथमिकता रहेको बताएकी छिन् । आज (बुधवार) आफैँले बोलाएको सर्वदलीय बैठकलाई सम्बोधन गर्दै उनले यो प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

कार्कीले संसद् पुनर्स्थापनाको अडान नलिने दलहरूलाई विशेष आग्रह गरिन् । उनले भनिन्, ‘पुनर्स्थापनाको अडान लिने हो भने त्यसले केवल विगतको राजनीतिक दुर्घटनालाई दोहोर्‍याउन खोजेको पुष्टि हुनेछ ।’

उनले लोकतन्त्रमा विश्वास गर्ने दलहरूलाई निर्वाचनबाट नभाग्न र जनमतको सम्मान गरी संवैधानिक निकासको बाटोमा केन्द्रित हुन जोड दिइन् ।

कार्कीले मंसिर १० गतेभित्र अनिवार्य रूपमा निर्वाचन आयोगमा दल दर्ता गराउन अपिल गरेकी छिन् । ‘दल दर्ता नगर्ने वा निर्वाचन बहिष्कार गर्ने कुनै पनि दलले लोकतन्त्रको रक्षाभन्दा अराजकता रोजेको ठहरिनेछ,’ उनले चेतावनी दिइन् ।

प्रधानमन्त्रीले द्वेषपूर्ण अभिव्यक्ति (हेट स्पीच) विरुद्ध तत्काल र सार्वजनिक कारबाही गर्न सरकारले निर्वाचन आयोगलाई पूर्ण सहयोग गर्ने बताइन् ।

सुरक्षाका लागि राजनीतिक विवाद चर्किएका जिल्लाहरूलाई ’हट–स्पट’ मा राखेर सादा पोसाकका सुरक्षाकर्मी र गुप्तचरको परिचालन बढाइएको जानकारी दिइन् ।

उनले अराजकता नियन्त्रण र राजनीतिक हिंसा/टकराब रोक्न ’ट्र्याक–टु’ वार्ता र संवादको पहल पनि गरिरहेको बताइन् ।


Facebook Comments