छाउगोठमा बस्ने–बसाउनेलाई कानुनी कारबाही र सेवा सुविधा रोक्का

मंगलसेन नगरपालिकाको घोषणा

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १२ गते १३:१८
Image of https://mayorsap.com/storage/photos/shares/untitled-designpdf_4.jpg
तस्बिर: मेनुका ढुंगाना

अछाम । ६ वर्षअघि ‘छाउगोठ मुक्त’ घोषणा भएको अछामको मंगलसेन नगरपालिकाले महिनावारी र सुत्केरीको समयमा महिलालाई छाउगोठमा बस्न बाध्य पार्नेलाई अब कानुनी कारबाही गर्ने र सामाजिक सुरक्षा भत्ता लगायतका सेवा सुविधा रोक्का गर्ने घोषणा गरेको छ ।

हालै सदरमुकाम नजिकैको खिमाडा गाउँमा सुत्केरीलाई समेत गोठमा राखिएको समाचार सार्वजनिक भएपछि नगरपालिकाले सरोकारवालासँग अन्तरक्रिया गर्दै यस्तो निर्णयमा पुगेको हो ।

अन्तरक्रियामा महिला तथा किशोरीहरूले घरपरिवारको दबाब र अग्रजको मानसिकताका कारण महिनावारी हुँदा ७ दिनसम्म गोठमा बस्नुपर्ने बाध्यता रहेको सुनाएका थिए ।

नगरप्रमुख पदम बोहराले जनचेतना र अभियानबाट प्रभाव नपरेपछि अब कानुनी प्रक्रिया नै अन्तिम विकल्प भएको बताएका छन् ।

वडाध्यक्ष नरबहादुर भण्डारीले एक साताभित्र स्थानीयलाई जिम्मेवार बनाएर छाउगोठ हटाउने समय दिइएको र अटेर गरेमा प्रहरी–प्रशासनको सहयोग लिइने बताए ।

मुलुकी फौजदारी संहिता–२०७४ अनुसार, महिनावारी वा सुत्केरी महिलालाई घरबाहिर बस्न बाध्य गराउनेलाई तीन महिनासम्म कैद र तीन हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ ।

सेवा सुविधा रोक्ने घोषणालाई वडाध्यक्षले पनि प्रतिबद्धता व्यक्त गर्दै अब छाउपडी र सुत्केरीलाई गोठमै राख्ने लाजमर्दो अवस्था हटाउन सबै लाग्नुपर्नेमा जोड दिएका छन् ।


Facebook Comments