भरतपुर महानगरमा १ करोड लागतमा अपाङ्गमैत्री स्मार्ट शौचालय बन्दै

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १२ गते १४:४१
Image of https://mayorsap.com/storage/photos/shares/bharatpur.jpg

चितवन । भरतपुर महानगरपालिकाले सहरी क्षेत्रमा स्मार्ट शौचालय निर्माण अभियानलाई तीव्रता दिएको छ ।

महानगरले हाल दुई स्थानमा अत्याधुनिक सुविधासहितको स्मार्ट शौचालय निर्माणको काम अन्तिम चरणमा पुर्याएको छ । यसअघि तीन स्थानमा आधुनिक सार्वजनिक शौचालय सञ्चालनमा आइसकेका छन् ।

महानगर कार्यालय नजिकै थारू संस्कृति झल्कने र छिमेकी जिल्ला प्रहरी कार्यालयको जग्गामा आधुनिक स्वरुपको गरी दुई स्मार्ट शौचालय रु एक करोडको लागतमा बनिरहेका छन् ।

डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार यी शौचालयहरू अपाङ्गमैत्री हुनुका साथै महिलाका लागि स्तनपान कक्ष, ड्राइपर तथा सेनिटरी प्याड परिवर्तनको सुविधा र नुहाउने व्यवस्था सहित सेन्सर जडित धारा राखिएका छन् ।

महानगर प्रमुख रेनु दाहालले स्थान अभावका कारण आवश्यक सङ्ख्यामा शौचालय बनाउन नसकिएको स्वीकार गर्दै, समयसापेक्ष स्मार्ट शौचालयहरू बनाउँदै लैजाने लक्ष्य रहेको बताइन् ।

महानगरले मुख्य बजार क्षेत्र लायान्स चोक, सहिद चोक र पुलचोकमा थप स्मार्ट शौचालयका लागि जग्गा खोजी गरिरहेको छ ।

यसअघि भरतपुर अस्पताल अगाडि, गोन्द्राङ र आँपटारीमा रु ७० लाख खर्च गरी आधुनिक सार्वजनिक शौचालय निर्माण गरिसकिएको छ ।


Facebook Comments