झापा–५ बाट ओलीको नाम एकल सिफारिस
मेयरसाप डेस्क
|
२०८२ पुष १९ गते १५:०७
विराटनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार सिफारिस भएका छन् ।
शनिबार बसेको एमाले निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले अध्यक्ष ओलीको नाम सर्वसम्मत रूपमा एकल सिफारिस गरेको हो ।
एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार, सो क्षेत्रबाट उम्मेदवार बन्न अन्य आकाङ्क्षीहरू देखिए पनि अध्यक्ष ओलीका लागि सबैले स्वेच्छाले दाबी छोडेका थिए ।
‘अध्यक्षज्यूको व्यक्तित्व र क्षेत्रको विकासमा उहाँको योगदानलाई कदर गर्दै सर्वसम्मत रूपमा एकल नाम सिफारिस गर्ने निर्णय भएको हो,’ कार्कीले भने । ओली यसअघि २०७४ र २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट भारी मतान्तरले विजयी भएका थिए ।
झापामा रहेका ५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम टुङ्गो लगाउन आज जिल्लाभर क्षेत्रीय कमिटीका बैठकहरू भइरहेका छन् । झापा–५ मा ओलीको उम्मेदवारी निश्चित भएसँगै एमालेले चुनावी तयारीलाई तीव्रता दिएको छ ।
Facebook Comments