भेनेजुएलाका राष्ट्रपति मदुरो बेपत्ता, ट्रम्प भन्छन्– 'हामीले नियन्त्रणमा लियौँ'
मेयरसाप डेस्क
|
२०८२ पुष १९ गते १५:५३
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीलाई पक्राउ गरी देशबाहिर लगिएको सनसनीपूर्ण दाबी गरेका छन् ।
भेनेजुएलाका सैन्य अखडाहरूमा अमेरिकाले भीषण हवाई आक्रमण गरेको केही घण्टामै ट्रम्पको यस्तो बयान आएको हो ।
अमेरिकी हमलापछि मदुरो र त्यहाँका सेनापति भ्लादिमिर पातृनो लोपेज सार्वजनिक रूपमा नदेखिएपछि उनीहरूको अवस्थाबारे अन्योल सिर्जना भएको थियो ।
ट्रम्पले मदुरोलाई लागुऔषध आतङ्ककारीको संज्ञा दिँदै ‘मस्ट वान्टेड’ सूचीमा राखेका थिए । अमेरिकाले यसअघि नै मदुरोलाई पक्राउ गर्ने वा सूचना दिनेलाई ५ करोड अमेरिकी डलर इनामको घोषणा गरेको थियो ।
राष्ट्रपति ट्रम्पले भेनेजुएलामा गरिएको सैन्य कारबाही पूर्ण रूपमा सफल भएको बताउँदै यसबारे विस्तृत जानकारी अमेरिकी समयअनुसार बिहान ११ बजे फ्लोरिडास्थित ’मार–आ–लागो’ रिसोर्टबाट दिने घोषणा गरेका छन् ।
यद्यपि, भेनेजुएला सरकार वा अन्य स्वतन्त्र स्रोतहरूबाट मदुरो पक्राउ परेको आधिकारिक पुष्टि हुन बाँकी छ ।
Facebook Comments