अछाममा किशोरीहरूलाई ‘सेल्फ डिफेन्स’ तालिम सिकाइँदै

जिल्लाव्यापी आत्मरक्षा अभियान सुरु

User Image मेयरसाप डेस्क | २०८२ पुष १९ गते १६:१४
Image of https://mayorsap.com/storage/photos/shares/aaa.jpeg

अछाम । किशोरीहरूमाथि हुने हिंसाका घटनालाई न्यूनीकरण गर्न र उनीहरूलाई शारीरिक तथा मानसिक रूपमा सबल बनाउन अछाममा आत्मरक्षा प्रशिक्षण अभियान सुरु गरिएको छ ।

सामाजिक विकास कार्यालय अछामको आयोजनामा जिल्लाका विभिन्न विद्यालयहरूमा पुगेर किशोरीहरूलाई विशेष तालिम दिन थालिएको हो ।

यसै अभियानअन्तर्गत शुक्रबार ऐश्वर्य माध्यमिक विद्यालय, दर्नाका कक्षा ८ देखि १२ सम्मका किशोरीहरूलाई दुई दिने आधारभूत आत्मरक्षा तालिम प्रदान गरिएको छ ।

तालिममा किशोरीहरूलाई आफ्नो सुरक्षा कसरी गर्ने भन्ने प्रयोगात्मक अभ्यासका साथै सकारात्मक सोच, योग आसन र जीवनरक्षाका सीपहरू सिकाइएको थियो ।

सामाजिक विकास कार्यालयका प्रमुख डम्बरबहादुर रावलका अनुसार, तालिममा पछिल्लो समय बढ्दै गएको साइबर सुरक्षाका चुनौती, घरेलु हिंसा र लैङ्गिक हिंसा न्यूनीकरणमा किशोरकिशोरीको भूमिकाबारे समेत सहजीकरण गरिएको छ । 

यसअघि मेल्लेख गाउँपालिकाको नन्देश्वरी मावि र मंगलसेनको गंगा माविमा पनि यस्तै तालिम सम्पन्न भइसकेको छ । यो अभियानले किशोरीहरूमा आत्मविश्वास बढाउन र सम्भावित जोखिमबाट बच्न ठूलो सहयोग पुग्ने कार्यालयको विश्वास छ ।


Facebook Comments