रास्वपाको लक्ष्य २१ बाट सिधै १५१ सिट पुर्‍याउने हो : स्वर्णिम वाग्ले

No Author Assigned | २०८२ पुष २० गते १६:३९
Image of https://mayorsap.com/storage/photos/shares/sornim-wagle.jpg

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी निर्वाचनमा आफ्नो पार्टीको लक्ष्य १५१ सिटसहितको स्पष्ट बहुमत ल्याउने रहेको घोषणा गरेका छन् ।

पोखरामा शनिबार आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले २१ सिटबाट सिधै १५१ सिटको लक्ष्य राख्नुका पछाडि संसदको चुनौतीपूर्ण अनुभव रहेको बताएका हुन् ।

‘अब हामी २०–२१ सिटमा सीमित हुने छैनौँ, हाम्रो लक्ष्य १५१ सिटको हो,’ वाग्लेले भने, ‘यो चानेचुने सङ्कल्प होइन। २१ बाट ५०–६० सिटको लक्ष्य राख्नु स्वाभाविक हुन्थ्यो, तर थोरै सिट हुँदा संसद्मा भोग्नुपरेको पीडादायी अनुभवका कारण हामीले ठूलो सङ्कल्प गरेका हौँ ।’

उपसभापति वाग्लेले रास्वपाले व्यक्तिभन्दा दल र दलभन्दा माथि मुलुकलाई राखेर राजनीति गरिरहेको दाबी गरे । पुराना राजनीतिक दलहरूले गरेका गल्तीबाट पाठ सिक्दै राजनीतिलाई सभ्य र सुसंस्कृत बनाउने महान् उद्देश्यका साथ पार्टी अघि बढेको उनको भनाइ थियो ।


Facebook Comments