पोखरा महानगरले किसानलाई तरबुजातर्फ आकर्षित गर्दै

बीउ र मल्चिङमा ५० प्रतिशत अनुदान

User Image मेयरसाप डेस्क | २०८२ पुष २० गते १०:५२
Image of https://mayorsap.com/storage/photos/shares/pokhara-mahanagar.jpg

गण्डकी । पोखरा महानगरपालिकाले यहाँका किसानलाई तरबुजाखेतीतर्फ आकर्षित गर्न अनुदानलगायतका कार्यक्रम अघि बढाएको छ ।

पछिल्ला वर्षमा पोखरा महानगरका विभिन्न स्थानमा तरबुजाखेती गर्ने क्रम बढ्दै गएको अवस्थामा यसलाई व्यावसायिक रूपमा अघि बढाउने गरी महानगर लागेको कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए ।

अघिल्लो वर्ष पोखरा महानगरपालिकाको वडा नं १३, १४, ३३ लगातयत स्थानमा झण्डै दुई सय रोपनीमा तरबुजाखेती गरिएकामा रु दुुई करोडबराबरको कारोबार भएको उनले जानकरी दिए ।

“महानगरपालिकाले तरबुजाखेतीलाई व्यावसायिक रूपमा नै अघि बढाउने गरी अनुदानका कार्यक्रम पनि अघि बढाएको छ”, उनले भने, “यस वर्ष तरबुजाखेती गर्न चाहने किसानलाई बीउ र मल्चिङका लागि ५० प्रतिशत अनुदानको कार्यक्रम पनि राखिएको छ ।” 

अघिल्लो वर्ष वडा नं १३ मा मात्रै करिब १०० रोपनी क्षेत्रमा तरबुुजाखेती गरिएको जानकारी दिँदै उनले तरबुजा उत्पादक र उपभोक्तालाई एकै ठाउँमा उपस्थित गराउनका लागि उक्त वडामा तरबुजा मेलासमेत सम्पन्न गरिएको बताए । 

महानगरपालिकाले समुदायसँगको सहकार्यमा यस वर्ष तरबुजाका विभिन्न प्रजातिको परीक्षणसमेत गर्न लागेको छ । पोखरामा विशेषतः सरस्वती जातको तरबुजा धेरै लगाउने गरिएको कडरियाले जानकारी दिए ।


Facebook Comments