गमगढी–सोरु सडक स्तरोन्नति तीव्र, १८ महिनाभित्रै सम्पन्न गर्ने तयारी

User Image मेयरसाप डेस्क | २०८२ पुष २० गते १६:४७
Image of https://mayorsap.com/storage/photos/shares/img-2331-67538bfd.jpg

मुगु । मुगु जिल्लाको गौरवको आयोजना मानिएको हुम्ला–मुगु–कर्णाली (गमगढी–नाक्चेलाग्ना) सडक अन्तर्गत गमगढी–सोरु खण्डको निर्माण तथा स्तरोन्नति कार्यले तीव्रता पाएको छ । विगत एक दशकदेखि साँघुरो र जोखिमपूर्ण सडकमा यात्रा गर्न बाध्य सोरु गाउँपालिका र आसपासका बासिन्दाका लागि यो आयोजना आशाको किरण बनेको छ ।

कर्णाली प्रदेश सरकार पूर्वाधार विकास कार्यालय मुगुमार्फत विनियोजित कूल ६३ करोड ४६ लाख रुपैयाँको बजेटमध्ये ३० करोड ९ लाख २५ हजार ९ सय रुपैयाँमा ठेक्का सम्झौता भएको हो । शिवालय–मंगलदीप टक्सान जेभीले वि.सं. २०८२ साउनदेखि काम सुरु गरेको यो सडक १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

निर्माण कम्पनीका प्रतिनिधि सूर्य बहादुर शाहीका अनुसार काम सुरु भएको तीन महिनामा करिब २५ प्रतिशत प्रगति भइसकेको छ । ‘अहिले सडक चौडा गर्ने, नाला बनाउने र ग्याबिन वाल लगाउने काम भएको छ । हामीले पर्याप्त मेसिन र उपकरण प्रयोग गरेर तोकिएको समयमै गुणस्तरीय काम सम्पन्न गर्ने लक्ष्य राखेका छौँ,’ शाहीले भने ।

स्थानीयले भने काम छिटो मात्र नभई गुणस्तरीय हुनुपर्नेमा जोड दिएका छन् । छाउले टिमका अध्यक्ष बिर्ख बहादुर मल्लले विनियोजित बजेटअनुसारको पूर्ण र दिगो काम हुनुपर्ने बताए ।

सडक निर्माणपछि गमगढी बजारदेखि सोरु गाउँपालिका र हुम्लाका केही बस्तीसम्मको यात्रा सुरक्षित र सहज हुने बताइएको छ । मुगुबाट सुर्खेत र नेपालगन्ज जानका लागि जुम्लाको बाटोभन्दा सोरु–हुम्ला–बाजुरा हुँदै जाने बाटो छोटो र सहज हुने अनुमान गरिएको छ ।

पूर्वाधार विकास कार्यालय मुगुका प्रमुख कृष्ण चापागाईका अनुसार हाल सडकको मुख्य भागमा मापदण्ड अनुसारको प्राविधिक काम भइरहेको छ । यो सडक सम्पन्न भएपछि मुगुको यातायात क्षेत्रमा ठूलो क्रान्ति आउने अपेक्षा गरिएको छ ।


Facebook Comments