रौतहटको जयनगरमा देशकै ठुलो ग्रामीण फर्निचर मेला सुरु
मेयरसाप डेस्क
|
२०८२ माघ ११ गते ११:२५
रौतहट । रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा श्रीपञ्चमीको अवसर पारेर शुक्रबारदेखि फर्निचर मेला सुरु भएको छ ।
वि.सं. २०६५ देखि निरन्तर आयोजना हुँदै आएको यो मेला घरायसी काठका फर्निचर र फलामका कृषि औजारहरूको व्यापारका लागि देशकै ठुलो ग्रामीण मेलाका रूपमा परिचित छ ।
दुई महिनासम्म चल्ने यस मेलामा पलङ, दराज, टेबल र कुर्सीमा मात्र नभई कोदालो, हँसिया र बञ्चरो जस्ता कृषि सामग्रीको समेत ठुलो कारोबार हुने गर्दछ ।
नेपाल विश्वकर्मा लोहार सङ्घका अध्यक्ष विवेक शर्माका अनुसार मेलामा रौतहट, सर्लाही, बारा, पर्सालगायत विभिन्न जिल्लाका २०० भन्दा बढी व्यवसायीले आफ्ना उत्पादनहरू बिक्रीका लागि राखेका छन् ।
स्थानीय सीप, श्रम र आफ्नै काठको प्रयोग गरिने भएकाले यहाँका फर्निचर अन्य बजारको तुलनामा २५ प्रतिशतसम्म सस्तो र गुणस्तरीय हुने दाबी गरिएको छ ।
सस्तो मूल्य र टिकाउ सामान पाइने भएकाले विवाहको दाइजोका लागि सामग्री खरिद गर्नेहरूको यहाँ विशेष भीड लाग्ने गर्दछ ।
यस मेलाबाट नेपालका प्रमुख सहरहरू काठमाडौँ, पोखरा र विराटनगरदेखि भारतको बिहार प्रान्तका सीतामढी, मुजफ्फरपुर र पटनासम्म फर्निचर ढुवानी हुने गरेको छ।
यातायातको सहज पहुँच र उचित मूल्यका कारण जयनगरको यो मेला सीमावर्ती क्षेत्रका उपभोक्ता र व्यापारीहरूका लागि मुख्य आकर्षणको केन्द्र बनेको छ ।
Facebook Comments