गगन–बालेन र प्रचण्डबीचको ‘राष्ट्रिय बहस’ अपरिहार्य !

लोकतान्त्रिक परिपक्वताको परीक्षण

User Image कृष्णबहादुर तामाङ | २०८२ माघ ११ गते ११:३३
Image of https://mayorsap.com/storage/photos/shares/balen-gagan-prachanda.jpg

अमेरिकी निर्वाचन प्रणालीमा एउटा लोभलाग्दो अभ्यास छ— राष्ट्रपति पदका उम्मेदवारहरूबीचको खुला बहस । यसले लोकतन्त्रलाई केवल नाममा मात्र सीमित नराखी जीवन्त, उत्तरदायी र नागरिकप्रति जबाफदेही बनाएको छ । निर्वाचनअघि दुई मुख्य पार्टीका उम्मेदवारहरूलाई एउटै मञ्चमा उभ्याएर गरिने ‘डिबेट’ले उनीहरूले अघि सारेका एजेन्डा र मुद्दाहरूमाथि सूक्ष्म मन्थन गर्ने अवसर दिन्छ । त्यही बहसबाट निसृत विचारका आधारमा आम मतदाताले आफ्नो धारणा बनाउँछन् र देशको नेतृत्व कसलाई सुम्पने भन्ने निर्णयमा पुग्छन् ।

नेपालको वर्तमान सन्दर्भमा पनि यस्तै अभ्यासको खाँचो खड्किएको छ । यतिबेला मुलुकको प्रधानमन्त्रीका रूपमा लगभग घोषित र प्रभावशाली देखिएका तीन पात्रहरू— गगनकुमार थापा, बालेन शाह र पुष्पकल दाहाल ‘प्रचण्ड’बीच राष्ट्रिय मुद्दामा सार्वजनिक बहस गराउनु अपरिहार्य देखिएको छ । यी तीनै व्यक्तित्वले नेपाली राजनीतिको फरक–फरक धार र चेतनाको प्रतिनिधित्व गर्छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रका दरिलो खम्बाका रूपमा नेपाली कांग्रेसका नेता गगनकुमार थापा उभिनुभएको छ । उहाँ संसदीय लोकतन्त्रको सुदृढीकरण, संस्थागत निरन्तरता र संविधानको रक्षा गर्ने वैचारिक धरातलबाट अघि बढिरहनुभएको छ । अर्कोतर्फ, वैकल्पिक शक्तिको रूपमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह हुनुहुन्छ । उहाँले विद्यमान राजनीतिक संरचनाप्रति आम नागरिकमा रहेको गहिरो असन्तोष र विद्रोही चेतनालाई नेतृत्व गरिरहनुभएको छ । त्यसैगरी, संघीय गणतन्त्रको जग निर्माणदेखि यसको कार्यान्वयनको निर्णायक चरणसम्म प्रत्यक्ष र केन्द्रीय भूमिका निर्वाह गरेका व्यक्तित्व हुनुहुन्छ— नेपाली कम्युनिस्ट पार्टीका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ । उहाँको राजनीतिक अनुभव, निर्णय प्रक्रिया र विरासत स्वयंमा एउटा वृहत् बहसको विषय हो ।

यी तीन फरक धारका प्रभावशाली व्यक्तित्वहरूलाई अमेरिकी चुनावमा जस्तै खुला, प्रत्यक्ष र राष्ट्रिय टेलिभिजनमार्फत प्रसारित हुने एउटै मञ्चमा राखेर बहस गराउनु नेपालको लोकतान्त्रिक यात्रालाई अर्को तहमा पुर्याउने एक ऐतिहासिक प्रस्ताव हो । संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा रहेको मुलुकका लागि अब केवल भीड जम्मा गर्नु, चर्का नाराबाजी गर्नु वा सामाजिक सञ्जालमा आरोप–प्रत्यारोपमा उत्रिनु पर्याप्त छैन । सचेत जनता अब नेताहरूसँग प्रत्यक्ष प्रश्न सोध्न र उनीहरूबाट तार्किक उत्तर प्राप्त गर्न चाहन्छन् ।

यस्तो बहसमा धेरै अनुत्तरित प्रश्नहरूको जवाफ खोज्न सकिन्छ । संघीय प्रणाली किन आवश्यक छ वा यो किन असफल भइरहेको छ? गणतन्त्रलाई सुधार्ने कि यसलाई प्रतिस्थापन गर्ने? शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायको वस्तुनिष्ठ मूल्याङ्कन कसरी गर्ने? भ्रष्टाचारको अन्त्य, सुशासनको प्रत्याभूति, विकासको मोडल, युवा पलायनको डरलाग्दो अवस्था र राष्ट्रिय स्वाधीनता जस्ता गम्भीर विषयमा वास्तविक समाधान के हो? यस्ता प्रश्नमा हुने विचार मन्थनले व्यक्तित्वको मात्र होइन, बरु नीतिका आधारमा नेतृत्वको मूल्याङ्कन गर्ने परिपाटी बसाल्नेछ ।

यो ऐतिहासिक जिम्मेवारी पूरा गर्न नेपालका प्रमुख टेलिभिजन सञ्चालकहरू— कान्तिपुर टेलिभिजन, नेपाल टेलिभिजन, एपी वान, हिमालय टेलिभिजन, न्यूज २४ लगायतका सञ्चार गृहहरूले अग्रसरता लिनु आजको समयको माग हो । भीडमुखी राजनीतिलाई विचारमुखी बहसको संस्कृतिमा बदल्ने यो सुनौलो अवसर हो । आज अन्तर्राष्ट्रिय समुदायले पनि नेपाललाई हेर्दा सोधिरहेको प्रश्न यही हो— के नेपाली लोकतन्त्र यति परिपक्व भइसकेको छ कि यसले यस्तो आलोचनात्मक र प्रत्यक्ष बहसलाई सहजै आत्मसात् गर्न सकोस्?

यस्तो बहसलाई कुनै औपचारिक हलको चार पर्खालभित्र मात्र सीमित नराखी सार्वजनिक रङ्गशाला वा ऐतिहासिक महत्त्वको खुला स्थानमा आयोजना गर्न सकिन्छ । यसलाई केवल एक–डेढ घण्टाको समय सीमामा नबाँधी निरन्तर चार देखि पाँच घण्टासम्म सञ्चालन गरिनुपर्छ । यति लामो समयसम्म चल्ने संवादले नेताहरूको धैर्यता, वैचारिक स्पष्टता, नीतिगत गहिराइ र सङ्कट व्यवस्थापन गर्ने क्षमतालाई वास्तविक रूपमा उजागर गर्नेछ । यसमा पत्रकार, विज्ञ, नागरिक समाज र युवाहरूको प्रत्यक्ष सहभागिता हुनुपर्छ, जसले गर्दा यो कुनै ‘शो’ नभई राष्ट्रिय विमर्शको एक जीवित अभ्यास बनोस् ।

छोटा वक्तव्य र भावनात्मक नाराले मात्र राज्य सञ्चालनको योग्यता पुष्टि हुँदैन । दीर्घ संवाद र प्रश्नहरूको सामना गर्ने साहसले नै नेताको वास्तविक कद देखाउँछ । यदि नेपालमा यस्तो बहस सम्भव हुन्छ, भने धेरै राजनीतिक रहस्यहरू खुल्नेछन् र यदि सम्भव हुँदैन भने त्यो ‘असम्भव’ स्वयं नै एउटा अर्थपूर्ण उत्तर हुनेछ । नेपाल आज विचारको निर्णायक मोडमा उभिएको छ । बहसबाट पन्छिने लोकतन्त्र अन्ततः कमजोर बन्छ, भने बहसलाई खुल्ला हृदयले स्वीकार गर्ने लोकतन्त्र नै सुदृढ र अजय हुन्छ ।

गगन थापा, बालेन शाह र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको यो संवाद नेपाली आन्तरिक राजनीतिका लागि मात्र नभई विश्व समुदायका लागि पनि लोकतान्त्रिक साहसको एउटा उत्कृष्ट उदाहरण बन्न सक्छ । ४ देखि ५ घण्टाको यो खुला बहसले नै नेपाली राजनीतिको नयाँ मार्गचित्र कोर्न सक्छ । यो केवल एक कार्यक्रम हुने छैन, बरु नेपाली लोकतन्त्रको इतिहासमा नयाँ मानक स्थापना गर्ने एउटा कोशेढुङ्गा सावित पक्कै हुनेछ ।


Facebook Comments