बुढीगंगाका ७ कर्मचारी निलम्बित, भ्रष्टाचार मुद्दाले सेवा प्रवाह ठप्प
कार्यालयमा ताल्चा लाग्ने अवस्था
मेयरसाप डेस्क
|
२०८२ माघ २१ गते १५:४७
काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकाको प्रशासनिक भवन निर्माणमा भएको भ्रष्टाचार प्रकरणले अहिले नगरपालिकाको सम्पूर्ण सेवा प्रवाह नै संकटमा परेको छ ।
भवन निर्माणको ठेक्कामा मापदण्ड परिवर्तन गरी नगरपालिकालाई आर्थिक नोक्सानी पुर्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगर प्रमुख दीपकविक्रम शाहसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि कार्यरत ७ जना कर्मचारीहरू स्वतः निलम्बनमा परेका हुन् ।
अख्तियारले ३ करोड २७ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै मुद्दा चलाएपछि प्राविधिकदेखि प्रशासनसम्मका मुख्य कर्मचारीहरू बाहिरिएका छन् ।
यसै पनि प्रमुख प्रशासकीय अधिकृतको अभाव झेलिरहेको नगरपालिकामा कर्मचारीहरू निलम्बनमा परेपछि अहिले शिक्षा, प्रशासन र प्राविधिक शाखाहरू पूर्ण रूपमा बन्द भएका छन् ।
नगर प्रमुख रामबहादुर बानियाँका अनुसार करार कर्मचारी हटाइएको र निर्वाचन आचारसंहिताका कारण नयाँ जनशक्ति भर्ना गर्न नसकिने भएपछि सेवाग्राहीहरू निकै मर्कामा परेका छन् ।
हाल नगरपालिकामा आर्थिक अधिकार भएका कर्मचारी नहुँदा दैनिक कामकाज मात्र नभई विकास निर्माणका योजनाहरू समेत अलपत्र परेका छन् ।
Facebook Comments