नेप्सेमा सामान्य गिरावट, साढे सात अर्बको कारोबार
मेयरसाप डेस्क
|
२०८२ माघ २१ गते १५:५८
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट देखिएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार १.६४ अङ्कले घटेर २६८१.५० विन्दुमा पुगेर बन्द भएको हो ।
बजार सामान्य घटे पनि लगानीकर्ताको उत्साहका कारण कारोबार रकम भने ७ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । परिसूचक घटेको दिन पनि चार वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।
सर्किट लाग्ने कम्पनीहरूमा कालिन्चोक दर्शन लिमिटेड, सुपर माई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर र आँखुखोला जलविद्युत लिमिटेड रहेका छन् । गुमाउने कम्पनीहरूमा एचएलआई लार्ज क्याप फण्ड र रावा इनर्जीको मूल्यमा क्रमशः ५.५४ र ४.१३ प्रतिशतको गिरावट देखिएको छ ।
आज कारोबार भएका कुल १३ उपसमूहमध्ये फाइनान्स र जलविद्युतसहित ६ वटा उपसमूहको सूचक बढेको छ भने उत्पादन तथा प्रशोधन, बैंकिङ, लघुवित्त र जीवन बीमासहित ७ उपसमूह राताम्मे देखिएका छन् ।
कारोबार रकमका आधारमा आज अपर तामाकोशी शीर्ष स्थानमा रह्यो, जसको ८० करोड ७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भयो । दिनभर ३२६ कम्पनीका १ करोड ६६ लाखभन्दा बढी कित्ता सेयर कारोबार हुँदा ११३ कम्पनीको मूल्य बढेको छ भने १३४ वटाको घटेको छ ।
Facebook Comments