ताँजाकोटका पूर्व प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

औषधि खरिदका नाममा लाखाैं हिनामिना

User Image मेयरसाप डेस्क | २०८२ माघ २१ गते १६:१५
Image of https://mayorsap.com/storage/photos/shares/akhtiyar-durupayog-anusandhan-aayog.jpg

काठमाडौं । हुम्लाको ताँजाकोट गाउँपालिकामा औषधि खरिदका नाममा नक्कली बिल बनाई रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध आज भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकाल, स्वास्थ्य शाखा प्रमुख राजेन्द्र स्याङकु, सह–लेखापाल बिर्षसिंह सुनार र आर्यन फार्माका सञ्चालक कृष्णकुमार भुजुवाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

उनीहरूले स्वास्थ्य शाखाका लागि औषधि तथा उपकरण खरिद गर्दा वास्तविक बिलको अङ्क सच्याएर र खरिद नै नगरिएको सामग्रीको नक्कली बिल बनाएर सरकारी रकम भुक्तानी लिएको अनुसन्धानबाट खुलेको छ ।

अख्तियारका अनुसार, प्रतिवादीहरूले १ हजार २०० रुपैयाँको बिललाई सच्याएर ९२ हजार र १ हजार ३५० रुपैयाँको बिलमा अङ्क थपेर १ लाख १ हजार ३५० रुपैयाँ भुक्तानी लिएको भेटिएको छ ।

कुल १ लाख ९१ हजार ८५० रुपैयाँ हिनामिना गरेको ठहर गर्दै आयोगले उनीहरूबाट सोही बराबरको बिगो असुल र कैद सजायको मागदाबी गरेको छ ।


Facebook Comments