स्वास्थ्य बीमा जोगाउन अर्थ मन्त्रालयसँग १५ अर्ब बजेट माग
पैसा नभए अस्पतालहरू बन्द
मेयरसाप डेस्क
|
२०८२ माघ २१ गते १७:५३
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम टाट पल्टिन लागेको भन्दै तत्काल १५ अर्ब रुपैयाँ बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयसँग आग्रह गरेकी छन् ।
बुधबार प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा भएको छलफलमा उनले आवश्यक रकम अभाव भए बीमासँग आबद्ध अस्पतालहरूले सेवा बन्द गर्न सक्ने चेतावनी दिइन् ।
मन्त्री गौतमले सरकारको शून्य बजेट तर २४ अर्बको दायित्वका कारण कार्यक्रम सञ्चालन गर्न असम्भव भएको बताउँदै अर्थ मन्त्रालयको ध्यानाकर्षण गराइन् । ‘कि स्पष्ट रूपमा स्वास्थ्य बीमा बन्द गर्न निर्देशन हुनुपर्यो, कि आवश्यक रकम जुटाइदिनुपर्यो,’ उनले भनिन् ।
मन्त्री गौतमले बजेट वक्तव्यअनुसार ज्येष्ठ नागरिक, विपन्न र अल्पसङ्ख्यक समुदायको बीमालाई निरन्तरता दिन स्रोतको विकल्प नभएको स्पष्ट पारिन् ।
छलफलमा अर्थसचिव घनश्याम उपाध्यायले स्वास्थ्य मन्त्रालयलाई नीतिगत सुधारका लागि सुझाव दिँदै आवश्यक परे अन्य मन्त्रालयको चालु खर्चबाट रकमान्तर गरेर भए पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
तर, स्रोतको खोजीसँगै स्वास्थ्य मन्त्रालयले कार्यक्रममा देखिएका आन्तरिक समस्या समाधान र सुधारलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने अर्थ मन्त्रालयको धारणा छ ।
Facebook Comments