सामाजिक सञ्जालमा गरिने ‘बुस्टिङ’माथि आयोगकाे निगरानी

सञ्जालको खर्च पनि सीमाभित्रै हुनुपर्ने

User Image मेयरसाप डेस्क | २०८२ माघ २२ गते १२:०५
Image of https://mayorsap.com/storage/photos/shares/nirbachan-aayog.jpg

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरूले सामाजिक सञ्जालमार्फत गर्ने प्रचारप्रसारको खर्चलाई पनि चुनावी खर्चकै रूपमा गणना गर्ने भएको छ ।

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार, प्रविधिको प्रयोग गरी कुन उम्मेदवार वा संस्थाले सामाजिक सञ्जालमा कति खर्च गरिरहेको छ, भन्ने कुराको सूक्ष्म निगरानी भइरहेको छ ।

‘अहिले कुन व्यक्तिले सामाजिक सञ्जालमा कति खर्च गर्यो भनेर हेर्न प्राविधिक रूपमा सहज छ,’ भट्टराईले भने, ‘उम्मेदवारहरूले गर्ने यस्तो खर्च आयोगले तोकेको निर्वाचन खर्चको सीमाभित्रै रहनुपर्नेछ ।’ आयोगले उम्मेदवारहरूलाई सुगम र दुर्गमका आधारमा खर्चको फरक–फरक सीमा तोकेको छ ।

उम्मेदवारहरूले निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र आफ्नो खर्चको विवरण निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने कानुनी प्रावधान छ । सामाजिक सञ्जालमा हुने ‘बुस्टिङ’ र विज्ञापनलाई पनि यसै विवरणमा समावेश नगरे कारबाही हुन सक्ने आयोगले चेतावनी दिएको छ ।


Facebook Comments