चुनावी आचारसंहिता निगरानीको कमाण्ड सहायक प्रजिअलाई
निष्पक्ष र निर्भीक हुन गृहको निर्देशन
मेयरसाप डेस्क
|
२०८२ माघ २२ गते १३:२६
काठमाडौं । गृह मन्त्रालयले देशभरका सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई निर्वाचन आचारसंहिता अनुगमनको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न कडा निर्देशन दिएको छ ।
२०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचन आयोगले सहायक प्रजिअहरूलाई ’अनुगमन अधिकृत’ को विशेष जिम्मेवारी सुम्पेको हो ।
गृह सचिव राजकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा जिल्लास्तरमा आचारसंहिता पालना गराउन सहायक प्रजिअहरूले निष्पक्ष र निर्भीक भई कार्य गर्ने विश्वास व्यक्त गरिएको छ ।
आयोगले उनीहरूलाई आर्थिक विषय बाहेकका अन्य सबै क्षेत्रको आचारसंहिता अनुगमन गर्ने अधिकार प्रदान गरेको छ । मन्त्रालयले अनुगमनका क्रममा सम्पादित कार्यहरूको नियमित प्रतिवेदन गृह मन्त्रालयमा समेत उपलब्ध गराउन निर्देशन दिएको छ ।
निर्वाचन आचारसंहिता, २०८२ लागू भइसकेको अवस्थामा जिल्लामा हुने दलगत गतिविधि, प्रचारप्रसार र सरकारी स्रोतको दुरुपयोग रोक्न उनीहरूको भूमिका निर्णायक हुने देखिएको छ ।
Facebook Comments