निर्वाचन घोषणापत्रमा बाल स्वास्थ्य र अधिकार समेट्न आह्वान
मेयरसाप डेस्क
|
२०८२ माघ २२ गते १४:२४
काठमाडौं । बाल रोग विशेषज्ञहरूको संस्था नेपाल पेडियाट्रिक सोसाइटी (नेपास) ले आगामी फागुन २१ को निर्वाचनलाई बाल अधिकार सुनिश्चित गर्ने अवसरका रूपमा लिन राजनीतिक दलहरूलाई अपिल गरेको छ ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै सोसाइटीले दलहरूका निर्वाचन घोषणापत्रमा बालमैत्री नीति र पर्याप्त बजेटको स्पष्ट प्रतिबद्धता हुनुपर्नेमा जोड दिएको हो । देशको भविष्य बालबालिकाको अवस्थामा निर्भर रहने भएकाले बाल स्वास्थ्यलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने नेपासको माग छ ।
विज्ञप्तिमा मातृ–शिशु स्वास्थ्यमा लगानी बढाउन, कुपोषण अन्त्यका लागि प्रभावकारी कार्यक्रम ल्याउन र सबै बालबालिकालाई निःशुल्क एवं गुणस्तरीय स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न आह्वान गरिएको छ ।
यसका साथै नेपासले बाल हिंसा, बालविवाह र बालश्रम जस्ता सामाजिक विकृति अन्त्यका लागि कानुनी संयन्त्र बलियो बनाउनुपर्ने र सङ्घीयताको सबै तहमा बालमैत्री बजेट विनियोजन हुनुपर्ने बताएको छ ।
सोसाइटीका अध्यक्ष डा. अरुणकुमार न्यौपानेले भने, “बालमैत्री नीति र लगानीबिनाको विकास दिगो हुन सक्दैन। त्यसैले दलहरूले कार्यान्वयन गर्न सकिने स्पष्ट प्रतिबद्धता जनाउनु आवश्यक छ ।”
Facebook Comments