नारायणीमा मुखमा जाल अड्किएको घडियालको उद्धार

User Image मेयरसाप डेस्क | २०८२ माघ २२ गते १५:३०
Image of https://mayorsap.com/storage/photos/shares/uddar_3.jpg

नवलपुर । नवलपरासीको कावासोतीस्थित अमलटारीघाटमा तियारी जालमा अड्किएको एउटा वयस्क भाले घडियाल गोहीको बुधबार सफल उद्धार गरिएको छ । 

चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार स्थानीय गोपाल बोटेको नेतृत्वमा निकुञ्जका कर्मचारी र स्थानीय बासिन्दाले चार दिनसम्म लगातार प्रयास गरेपछि गोहीको मुखबाट जाल हटाउन सफल भएका हुन् ।

माछा मार्ने क्रममा नदीमा छोडिएको जाल गोहीको मुखमा बेरिएको पाइएको थियो। उद्धारपछि गोहीको स्वास्थ्य अवस्था सामान्य रहेकाले उसलाई पुनः नारायणी नदीमै छाडिएको छ । यो वर्ष मात्रै नारायणीबाट उद्धार गरिएको यो चौथो घडियाल हो ।

पछिल्लो गणना अनुसार चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रका नारायणी र राप्ती नदीमा गरी ३६६ वटा वयस्क घडियाल फेला परेका छन्, जसमा भाले गोहीको सङ्ख्या जम्मा ९ मात्रै छ ।

निकुञ्जले गोही संरक्षणका लागि प्रजनन केन्द्रमा बच्चा हुर्काएर नदीमा छाड्ने र स्थानीय समुदायलाई संरक्षणमा सहभागी गराउने कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।


Facebook Comments